बंशिलाघाटसम्मको बाटो बाह्रै मास यातायात संचालन हुनेगरी स्त्तरोन्नती गरिने ।

२२ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखी बंशिलाघाटसम्मको बाटो बाह्रै मास यातायात संचालन हुनेगरी स्त्तरोन्नती गरिने भएको छ । कोशी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्रालयको सहयोग तथा चौदण्डीगढी नगरपालिकाको सक्रियतामा वडा नम्बर ८ को विरेन्द्र बजारदेखी सुगाचरी भञ्जयाङ्ग , छुईला हुदै बंशिलाघाटसम्मको बाटोमा मोड सुधार, आवश्यक स्थानमा पानीको निकास र ग्राभिलिङ्ग गरेर बाटो स्त्तरोन्नती गरिने पुर्वाधार विकास कार्यालय उदयपुरका वरिष्ठ प्राबिधिक किरण बिष्टले जानकारी दिएका छन् । बेल्टार–बंसिलाघाट–मैवावोटे–चिसापानी सडक स्त्तरोन्नती शिर्षक अन्तर्गत कोशी प्रदेश सरकारले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ छुट्टयाएको छ । यस्तै चौदण्डीगढी नगरपालिकाले नगरभरीको ग्राभेल बाटो स्त्तरोन्नती गर्न एक करोड रुपैयाँ गत पुष १६ गते सम्पन्न १७ औं नगर सभाबाट विनियोजन गरेको छ ।

आज सोही सडक खण्डको नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको नेतृत्वमा , बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द थापा, यातायात ब्यबसायी संघ चौदण्डीगढीका संयोजक ज्ञानेन्द्र प्रधान लगायत ब्यापारी, यातायात ब्यबसायी र पत्रकारको टोलीले स्थलगत अबलोकन गरेका छन् । स्थलगत अबलोकनका क्रममा बस, ट्रक लगायतका ठुला सवारी साधन बाह्रै मास संचालन गर्नका कुन कुन स्थानमा काम गर्नुपर्ने हो सोको टिपोट गरेका छन् । स्थलगत अबलोकनमा विरेन्द्र बजारदेखीमाथी , सुगाचौरी भञ्जयाङ्ग प्रवेश गर्ने नाकामा, त्यस्तै छुईला ओरालो तथा बंशिलाघाट ओरालोमा मोड सुधार गर्नुपर्ने, यस्तै सुगाचौरी र छुईलाको विचमा ३ स्थानमा नाली निमार्ण गरी बाटोमा बग्ने पानीलाई खोल्सामा झार्नुपर्ने र केही स्थानमा बाटोमा गिट्टी बिछ्याउनुपर्ने देखिएको पुर्वाधार विकास कार्यालय उदयपुरका वरिष्ठ प्राबिधिक बिष्टले बताएका छन् ।

यस्तै नगर प्रमुख कालुमान लामाले नगरपालिकालाई अन्तरपालिका र अन्तर जिल्ला सडकसंग जोड्ने योजना अनुरुप खोटाङ्ग र भोजपुर जिल्लालाई नगरको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारसंग जोड्न यो सडक महत्वपुर्ण रहेकोले नगर सरकारले यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जनाउदै बाह््रै मास यातायात संचालन हुनेगरी सडक स्त्तरोन्नती गर्न लागेको जानकारी दिएका छन् । यस्तै नगर सरकारले हडिया बजार र सुन्दपुर बजारलाई पनि बेल्टार बजारसंग जोड्न त्रियुगा नदीमा झुलुङ्गे पुल निमार्णका लागि लागिपरेको नगर प्रमुख लामाले बताएका छन् । बेल्टार – बंशिलाघाट सडक स्त्तरोन्नतीका लागि बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी माग गर्दै आएका छन् । यो सडकमा बाह्रै मास यातायात संचालन भएमा चौदण्डीगढी नगरपालिकाका वडा नम्बर १ र ८ त्यस्तै खोटाङ्ग जिल्लाको खोटाङ्ग बजार, दिक्तेल र भोजपुर जिल्लाका बासिन्दा प्रत्यक्ष लाभाम्वित हुनेछन् ।