चौदण्डीगढी नगरपालिकाको हडियामा १ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न ।

२० पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको हडियामा १ दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका र गाईघाट सिटी अस्पतालको संयुक्त आयोजनामा वडा नम्बर ९ हडियास्थित स्वास्थ्य चौकी हडियामा आज संचालन भएको स्वास्थ्य शिविरमा यस भेगका ६ सय जना भन्दाबढीले सेवा लिएको स्वास्थ्य चौकी हडियाका प्रमुख लक्ष्मी चौधरीले जानकारी दिएका छन्। शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी रोग, आँखा, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जनलगायतका बिशेषज्ञ सेवा प्रदान गरिएको चौधरीले बताएका छन् । शिविरमा बिरामीलाई आवश्यक औषधि गाईघाट सिटी अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो भने थप उपचार आबश्यक भएका विरामीलाई नगर अस्पताल बेल्टार र गाईघाट सिटी अस्पताल गाईघाटमा सम्पर्क गर्न भनिएको छ ।

शिविरमा नगरको वडा नम्बर ५ शिवाई , सुन्दरपुर, वडा नम्बर ९, १० को हडिया र छिमेकी पालिका त्रियुगा नगरपालिकाको वडा नम्बर १ को रुपनीलगायतका क्षेत्रबाट बिरामीहरु शिविरमा आएको स्वास्थ्य चौकी प्रमुख चौधरीले जानकारी दिएका छन् । आज संचालित शिविरको नगर प्रमुख कालुमान लामा, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत लगायतले अवलोकन समेत गरेका थिए भने नगर प्रमुख लामाले शिविरमा आएका विरामीहरुसंगै कुराकानी गर्दै उनीहरुको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिएका थिए ।

पछिल्लो समयमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरिरहेको छ । नगर अस्पताल बेल्टारमा एमविविएस डाक्टर थप्नुकासाथै आखाँ, दाँत, फिजियोथेरापी लगायतका सेवाहरु थप गरेकोछ भने सुविधासम्पन्न ल्याव, २४ घण्टै खुल्ला हुने फार्मेशी सेवा, एम्बुलेन्स सेवा दिदै आएको छ । यस्तै ग्रामीण स्थलमा रहेको स्वास्थ्य चौकी हडियामा हप्ताको प्रत्येक आईतवार एमविविएस डाक्टरको सेवा उपलब्ध गराउदै आएको छ । सोहीक्रममा आज स्वास्थ्य चौकी हडियामा वृहत स्वास्थ्य शिविर संचालन भएको हो । गाउँघरमै स्वास्थ्य शिविर संचालन भएपछि ज्येष्ट नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने उनीहरुले यस किसिमको स्वास्थ्य शिविरले लाभाम्वित भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।