उपराष्ट्रपतिद्वारा सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण।

१५ पुष २०८१, सन्तोष कुमार रौनियार…

–  शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति रामसहाय प्रसाद यादव

– स्थानीय तहले राजनीतिक आग्रह पुर्वाग्रह राखेर कार्य गरेकोले शिक्षालाई स्थानीय तहमा राख्ने कि नराख्ने भन्नेमा दुबिधा भएको : संघीय सांसद डा. नारायण खड्का

– तीनै तहको सरकारकोबिचमा राम्रो कोअर्डिनेशन हुन नसकेको महसुस गरेकाले त्यसलाई कोअर्डिनेशन गरेर अगाडी बढ्न्पर्नेमा जोड: नगर प्रमुख कालुमान लामा

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण गरेका छन् । बिद्यालयको स्थापना भएको ५० बर्ष पुगेको अवसरमा बिद्यालय हातामा निर्मित स्वर्ण जयन्ती स्तम्भको आज अनाबरण गर्दै उपराष्ट्रपति यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताए । उपराष्ट्रपति यादवले समाजमा समानताको भावना जागृत गर्न एवम् देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउदै उपराष्ट्रपति यादवले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए । ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया शिक्षा रहेको उपराष्ट्रपति यादवको भनाई थियो । यस्तै उपराष्ट्रपति यादवले बिभिन्न कारणले छोरीहरूलाई कम उमेरमै शिक्षाबाट बञ्चित गरिने गरिएकोप्रति सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताएका छन् । उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा समेत गरेका थिए । उपराष्ट्रपति यादवले चौदण्डीगढीको ऐतिहासिकताको बारेमा वर्णन गर्दै यसलाई पर्यटकीय गन्तब्यकोरुपमा विकास गर्न सकेमा देशकै आर्थिक अबस्थामा योगदान दिनसक्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व परराष्ट्रमन्त्री तथा उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद डा. नारायण खड्काले नीति निर्माताहरुलाई दुरदराज तथा दुर्गम स्थानको बिद्यालयहरुको अबस्थाको बारेमा जानकारी गराउने उदेश्यले उपराष्ट्रपति यादवलाई यहाँ आउन आग्रह गरिएको र आफ्नो र बिद्यालयको आग्रहलाई स्वीकार गरेर आएकोमा धन्यबाद दिएका थिए । संघीय सांसद डा. खड्काले दुरदराज र दुर्गम स्थानमा रहेका बिद्यालयका बिद्यार्थीहरुमा पनि क्षमता र प्रतिभा काठमाडौं र शहरी बिद्यार्थीहरु जस्तै भएकोले नीति निर्माण तहमा रहेकाहरुले यी स्थानका बिद्यालय र बिद्यार्थीहरुलाई सोचेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । फरक प्रशंगमा संघीय सांसद डा. खड्काले चौदण्डीगढी नगरपालिकाले शिक्षामा राजनीति गरेको आक्षेप लगाउदै आग्रह पुर्वाग्रह राख्न नहुने पनि बताएका थिए । उनले केही स्थानीय तहले राजनीतिक आग्रह पुर्वाग्रह राखेर कार्य गरेकोले शिक्षालाई स्थानीय तहमा राख्ने कि नराख्ने भन्नेमा दुबिधा भएको जिकिर गरेका थिए । त्यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर क्षेत्रभित्रको बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यहरु गरिरहेको र त्यसमा सफलता पनि प्राप्त भैरहेको दावी गरेका थिए । उनले नगरपालिकाले १० बर्षे शिक्षा नीति बनाएर त्यसलाई लागु गर्ने प्रक्रियामा रहेको जानकारी समेत दिएका थिए । नगर प्रमुख लामाले श्रमको सबैले सम्मान गर्नुपर्ने बताउदै नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा न्युन्तम पारिश्रमिक लागु गरेको जानकारी दिएका थिए । उनले सका लगायतका बिद्यालयका कर्मचारीलाई नगरको हिउँदे अधिबेशनबाट पारित गरेर न्युन्तम पारिश्रमिक दिने बताएका थिए भने संस्थागत बोडिङ्ग स्कुलहरुमा पनि न्युन्तम पारिश्रमिक र छात्रबृती कार्यवन्यन गरिने बताएका थिए । नगर प्रमुख लामाले तीनै तहको सरकारकोबिचमा राम्रो कोअर्डिनेशन हुन नसकेको महसुस गरेकाले त्यसलाई कोअर्डिनेशन गरेर अगाडी बढ्न्पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रित बहादुर मगरले बिद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले बिद्यालय नजिकै रहेको पहिरो, खानेपानीको समस्या तथा बिद्यालय भवनको जिर्नोद्धार लगायतको बिषयमा उपराष्ट्रपति यादव तथा संघीय सांसद डा. खडका लगायतका अतिथीहरुको ध्यानाकर्षण गराएका थिए ।