१३ पुष २०८१, सन्तोष कुमार रौनियार…
- राजनीति सबैले गर्नु आबश्यक नभएपनि राजनीतिक चेतना भने सबैमा हुनुपर्नेः नगर प्रमुख कालुमान लामा

उदयपुरको चौदण्डीगढी नगरपालिकामा २ दिने युवा संसद अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा टिम जेरो प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा बिभिन्न बिद्यालयका कक्षा ११ र १२ का करिव ४० जना युवा बिद्यार्थीहरुलाई संसदीय गतिबिधीका बारेमा जानकारी गराइएको थियो । आयोजक संस्थाका अध्यक्ष आदिप राउतका अनुसार कार्यक्रममा चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ को नारद आदर्श मावि, वडा नम्बर ६ को ज्योति मावी र वडा नम्बर ९ को जनता माविका ४० जना बिद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई संसदीय गतिबिधीका बारेमा ज्ञान दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको राउतले बताएका छन् ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई सत्ता पक्ष, विपक्षमा विभाजन गरेर संसदीय प्रणालीको बारेमा अभ्यास गराइएको थियो । सहभागी बिद्यार्थीहरुले आफुलाई सांसदकोरुपमा प्रस्तुत गर्दै देशमा देखिएको विभेद, विकृती, वेरोजगारी, शिक्षा, स्वास्थ्य, विकास निमार्ण लगायतको बिषयमा धारणा राखेका थिए । उनीहरुले प्रश्न उठाउनेदेखी बिध्येक दर्ता, छलफल र पास गर्नेसम्मका गतिबिधीको अभ्यास गरेका थिए भने प्रधानमन्त्री, सभामुख चुन्ने लगायतका कार्य पनि गरेका थिए । कार्यक्रममा सहभागी बिद्यार्थीहरुले ब्यबस्थापिक, कार्यपालिका र न्यायपालिका लगायतको काम कर्तव्यको बारेमा बुझने मौका पाएको र यस्तो कार्यक्रमले नेतृत्व विकासमा सहयोग पुग्ने बताएका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले राजनीति प्रमुख बिषय भएकोले राजनीति सबैले गर्नु आबश्यक नभएपनि राजनीतिक चेतना भने सबैमा हुनेपर्ने बताएका थिए । राजनीति नबुझेका ब्यक्तिहरु राजनीतिमा लाग्दा विकृती बढ्दै गएको नगर प्रमुख लामाको भनाई थियो । यस्तै प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठले अहिलेका युवा नै भोलीको नेता, मन्त्री, प्रधानमन्त्री बन्ने भएको हुनाले राजनीतिको बिषय तथा संसदीय गतिबिधिको बारेमा ज्ञान होस् भन्ने उदेश्यले कार्यक्रममा नगरपालिकाले सहयोग गरेको बताएका थिए । यस किसिमको कार्यक्रमले युवाहरुलाई राजनीतिप्रति सकरात्मक ज्ञान प्रदान गर्ने बताउदै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले सचेत युवा राजनीतिमा आउनुपर्ने बताएका थिए । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँर, शिक्षा शाखाका कर्मचारी, पत्रकार लगायतको पनि उपस्थिती रहेको थियो ।
