११ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामा, नगर उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, बिभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, स्थानीयबासी लगायतको उपस्थितीमा पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
त्रियुगा मिडिया एजेन्सीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा सुबिधाको वारेमा सेवाग्राहीले राखेका धारणाहरुलाई समेटेर तयार गरिएको रिपोर्ट प्रस्तुत गरिएको थियो भने नगरपालिकाको कार्यबारे प्रत्यक्ष छलफल समेत भएको थियो । सेवाग्राहीहरुले वडाहरुमा ज्येष्ट नागरिकहरुको बायोमेट्रिक परिचय पत्र दर्ता गर्दा औलाको छाप नलिएको फिंगर प्रिन्टको समस्या, ऐलानी जग्गा नापचाँच, सडक, सिचाई, खानेपानी लगायतका बिषयमा आफ्नो जिज्ञाशा राखेका थिए । सहभागीहरुले राखेको जिज्ञासाको उत्तर दिदै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले फिंगर प्रिन्टको समस्या समाधन नभएपनि ज्येष्ट नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नरोकिने भएकोले आत्तिनुपर्ने अबस्था नरहेको बताएका छन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले विकास निमार्णका योजनाहरुलाई सहजीकरण गर्न वडा कार्यालयहरुमै प्राबिधिकको ब्यबस्था गरिएको, स्थानीय जनप्रतिनीधि, उपभोक्ता समितिका प्रतिनीधि , प्राबिधिक लगायतको संलग्नतामा प्राविधिक स्टिमेट लगायतको कार्य गर्ने गरिएको बताएका छन् । यस्तै नगरपालिकाको कुनै पनि कार्यालयहरुमा बिचौलीया नरहेको दावी गर्दै राजस्व शुल्कबाहेक कुनै कर्मचारीले अतिरिक्त रकम मागेको लिखित गुनासो आएमा २४ घण्टा भित्र कारवाही गर्ने उनले बताएका छन् । सुत्रमा आधारित राजस्व प्रणाली लागु गरिएकोले आफूले तिरेको राजस्व रकमको जानकारी मोवाईलमा आउने उनले जानकारी दिएका छन् ।
यस्तै नगर उपप्रमुख मणिकादेवी दुलालले नगरपालिकाले गरेको राम्रो कामको प्रशंसा पनि गुर्नपर्ने धारणा राखेकी थिईन् । धेरै नगरबासीको सहभागितामा छलफल हुनेगरी यस्तो कार्यक्रमको आयोजना गर्नुपर्ने पनि उनको भनाई थियो । त्यस्तै नगर प्रमुख कालुमान लामाले भष्ट्राचारले देशलाई गाजीरहेकोले युवाशक्तिले यसलाई जरैदेखी उखेल्नुपर्ने बताएका थिए । भाषणमा चाही भष्ट्राचार फाल्छु भन्ने तर आफुले अवसर पाएमा भष्ट्राचार गरी हाल्ने प्रवृती रहेको उनको भनाई छ । यस्तै चुनावको बेला भोट मन परेकोलाई दिने भएता पनि राम्रो कामको सबैले प्रशंसा गर्नुपर्ने उनले बताएका छन् । नगरपालिकाले अहिलेसम्म गरिरहेको कामहरु भने सराहनीय नै रहेको नगर प्रमुख लामाको दावी छ ।
