ज्योति जनता बहुमुखी क्याम्पस सातधारेमा एक लाख अमेरिकी डलरको क्यान्टीन बन्ने ।

०८ पुष २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ सातधारेस्थित ज्योति जनता बहुमुखी क्याम्पसमा एक लाख अमेरिकी डलरको क्यान्टीन बन्ने भएको छ । चौदण्डीगढी नगरपालिका र लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ नेपाल र ज्योति जनता बहुमुखी क्याम्पसबीच आज बेल्टार बजारस्थित नगरपालिकामा त्रिपक्षिय सम्झौता भएको छ ।

नगरपालिकामा भएको त्रिपक्षिय सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शंकर कुमार सारदा र ज्योति जनता बहुमुखी क्याम्पसका क्याम्पस चिफ मनोज कुमार झाले हस्ताक्षर गरेका छन् । लायन्स क्लबको १ करोड ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ र चौदण्डीगढी नगरपालिकाको ३५ लाख ३५ हजार ५ सय ३५ रुपैयाँ गरी कुल लागत १ करोड ४१ लाख ४२ हजार १ सय ४१ रुपैयाँको लागत साझेदारीमा क्यान्टीन निर्माण हुने जनाइएको छ । योजनाका लागि लायन्स क्लब ईन्टरनेशनले ७५% र स्थानीय लायन्स क्लबले २५% लगानी गनुपर्ने प्राबधान भएता पनि स्थानीय लायन्स क्लबसंग पैसा नभएपछि नगरपालिकाले लागत साझेदारीको रकम जम्मा गर्दिने भएको हो ।

सम्झौता गर्दै नगर प्रमुख कालुमान लामाले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिदै क्यान्टीन निमार्णका लागि ठुलो रकम आउने भएपछि पालिकाको तर्फबाट सहयोग गरेको बताएका थिए । नगर प्रमुख लामाले क्याम्पसको लागि भवनको अभाव रहेको हुनाले भवनको लागि समेत पहल गरिदिन आग्रह गरेका थिए । यस्तै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ नेपालका पुर्व गभर्नर शिवकुमार कटुवालले आफ्नो कार्यकालमा क्याम्पस चिफ मनोज झा सरले क्यान्टिन भवन निमार्णका लागि आग्रह गरेका हुनाले आफूले पहल गरेको जानकारी दिदै उदयपुरमा १–१ लाख अमेरिकी डलर बराबरको ३ वटा योजना ल्याउन सफल भएको बताएका थिए । उनले क्याम्पसमा क्यान्टिन निमार्ण, उदयपुर जिल्ला अस्पताल गाईघाटमा ईक्युपमेन्ट सामाग्री सहयोग र मदन भण्डारी आखाँ अस्पतालका लागि १–१ लाख अमेरिकी डलर बराबरको योजना कार्यवन्यन हुने चरणमा रहेको बताएका थिए । यस्तै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शंकर कुमार सारदाले सम्झौताले उत्साहित बनाएको र आगामी ६ महिनामा क्यान्टीन निमार्णको कार्य सक्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सम्झैतामा लायन्स ईन्टरनेशनलले ७५% रकम नगरपालिकाको परियोजनाको नाममा रहेको विविध खातामा जम्मा गरिने र नगरपालिकाले थप २५% रकम थप गर्ने तथा नगरपालिकाले नै ईविडिङ्ग गरेर ठेक्का सम्झौता गर्ने उल्लेख छ । सम्झौता कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायतको पनि उपस्थिती रहेको थियो ।