०५ पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयमा नीजिश्रोतका नाममा कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने प्रतिबद्धता ब्यक्त गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर शिक्षा शाखाले आज शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठले सरकारी सामुदायिक बिद्यालयमा नीजि श्रोतको शिक्षकको पारिश्रमिक विषयमा नगरपालिकाको ध्यान नपुगेको स्वीकार गर्दै उनीहरुलाई न्युन्तम पारिश्रमिक दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । रेडियो चौदण्डीगढीले सामुदायिक बिद्यालयमा नीजिश्रोत शिक्षकको नाममा ५–६ हजार रुपैयाँमा काममा लगाईरहेको बिषय उठाएको थियो । सोही बिषयलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले श्रम शोषण कसैले पनि गर्न नहुने बताउदै सामुदायिक बिद्यालयमा नीजिश्रोतमा कार्यरत शिक्षकहरुलाई पनि न्युन्तम पारिश्रमिक लागु गरिने बताएका हुन् । यस्तै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि कार्य गरिरहेको बताउदै नगरमा संचालित संस्थागत बोडिङ्ग स्कुलहरुले यसअघि आफैले सहमति गरेको कार्यरत शिक्षकलाई बैकिङ्ग प्रणालीमार्फत न्युन्तम पारिश्रमिक दिने र १० प्रतिशत छात्रवृती प्रदान गर्ने निर्णय कार्यवन्यन नगरेकोले शिक्षा ऐन र नियमावलीअनुसार सहमति कार्यवन्यन गराउन आग्रह गरिएको बताएका छन् ।
त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष एवंम नगर प्रवक्ता प्रकाश राउतले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सुधारका कार्यहरु गरिरहेको बताउदै सामुदायिक बिद्यालयहरु मात्र नभएर संस्थागत बिद्यालयहरुको समस्यालाई पनि समाधान गरेर लैजान नगरपालिकाले काम गरिरहेको बताएका छन् । नगर प्रवक्ता राउतले पनि कम पारिश्रमिकमा कार्यरत नीजिश्रोतका शिक्षकहरुका लागि न्युन्तम पारिश्रमिक लागु गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
यस्तै नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले नगरपालिकाले शिक्षाको सुधारका लागि गरिरहेको कामहरुको बारेमा जानकारी गराएका थिए । उनले शाखाले सामुदायिक बिद्यालयहरुको सुधारका लागि बिद्यार्थी संख्या कम भएका बिद्यालयहरु बन्द गर्ने, बिद्यालयको तह घटुवा गर्ने, बिद्यालय समायोजन गर्ने , शिक्षकहरुको आन्तरिक सरुवा लगायतका कार्य गरिएको जानकारी दिएका थिए । शाखा प्रमुख कुवँरले पनि शिक्षा ऐन नियमावली अनुसार नगरमा संचालित संस्थागत बिद्यालयमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक बैकिङ्ग प्रणालीमार्फत दिन, १० प्रतिशत छात्रवृती पारदर्शीरुपमा वितरण गर्न निर्देशन दिएको बताएका थिए ।
पछिल्लो समयका यि बिषयहरुमा नगरपालिका र संस्थागत बिद्यालय संचालकहरु आमनेसामने छन् । संस्थागत बिद्यालयहरु बैकिङ्ग प्रणालीमार्फत न्युन्तम पारिश्रमिक दिन आनाकानी गरिरहेका छन् भने नगरपालिका शिक्षा ए्ेन नियमावली अनुसार न्युन्तम पारिश्रमिक र १० प्रतिशत निशुल्क छात्रबृती अनिवार्य लागु गराउन लागेको छ ।
