०३ पुष २०८१, सन्तोष कुमार रौनियार…

आधारभुत नगर अस्पताल बेल्टारमा दाँतको विरामीका लागि डेन्टल सेवा आजबाट शुरु भएको छ । चौदण्डीगढी नगरपालिकाकाका नगर प्रमुख कालुमान लामाले आज डेन्टल सेवाको औपचारिकरुपमा सुरुवात गरेका छन् । बेल्टार बजारस्थित आधारभुत नगर अस्पतालको सेवा प्रवाहलाई थप ब्यबस्थित र बिस्तार गर्नेक्रममा डेन्टल सेवा थप गरेको हो ।
दाँतको विरामीको विग्रेको दाँत निकाल्ने, सुनिएको गिजाको उपचार, दाँतको फिलिङ्ग गर्ने, दाँत सफा गर्ने लगायतको दाँतसम्बन्धी प्राथमिक स्तरको उपचार अब आधारभुत नगर अस्पताल बेल्टारमै सम्भव भएको अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुवेदीले बताएका छन्। उनले डेन्टलको उपचार पनि स्वास्थ्य विमा गराएकाहरुलाई चाडै निःशुल्करुपमा उपलब्ध गराउने प्रक्रियामा अस्पताल प्रशासन लागेको जानकारी दिएका छन् ।
डेन्टल सेवा शुरु भएपछि उदयपुर सदरमुकाम गाईघाट र धरान, विराटनगर जस्ता स्थानका अस्पतालमा यो सेवाका लागि जानुपर्ने बाध्यता हट्ने बिश्वास गरिएको छ । पछिल्लो समयमा नगर अस्पताल बेल्टारले आफ्नो सेवालाई सुदृढ बनाउदै लगेको छ । यस अघि प्याथोलोजि ल्यावका लागि अत्याधुनिक मेशीन ल्याएर थाईराईड, सुगर लगायतका दिर्घरोगको परिक्षण शुरु गरेको थियो । यस्तै बिहान १० बजेदेखी मात्रै खूलने अस्पताललाई शनिवार बाहेक बिहान ७ बजेदेखी नै हरेक दिन खुल्ने ब्यबस्था गर्नुका साथै एमविविएस डाक्टर समेत थपेर सेवा दिदै आएको छ भने आँखाका विरामी, फिजियोथेरापी लगायतका सेवाहरु पनि थप गरेको छ । त्यस्तै अस्पताले स्वास्थ्य विमा गराएका विरामीहरुलाई निशुल्क औषधी वितरणका लागि फार्मेशी सेवा, एम्बुलेन्स सेवा लगायतका सेवाहरु उपलब्ध गराउदै आएको छ ।
