नेवाः देय् दबू चौदण्डीगढी नगर अध्यक्षमा रमेश प्रधान पुनः सर्वसम्मत चयन ।

३० मंसिर २०८१, सन्तोष कुमार रौनियार…

राज्य र राजनीतिसंग बढी आश्रित हुदाँ समुदायको अपनत्वमा कमी आएको : पुर्व नगर प्रमुख खगेन्द्र राई

उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको नेवार समुदायको संस्था नेवाः देय् दबू नगर अध्यक्षमा रमेश प्रधानको नेतृत्वमा १३ सदस्य कमिटी पुनः सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । बेल्टार बजारस्थित भिमसेन थान मन्दिर परिसरमा रहेको सामुदायिक भवनको सभा हलमा आज भएको नेवाः देय् दबू चौदण्डीगढी नगर समितिको तेश्रो अधिवेशनले प्रधानलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । तेश्रो अधिवेशनले अध्यक्षमा प्रधान, वरिष्ट उपाध्यक्षमा गौतम श्रेष्ठ, खुल्ला उपाध्यक्षमा श्याम प्रधान, महिला उपाध्यक्षमा राम कुमारी श्रेष्ठ, खुल्ला सचिवमा सुनिल प्रधान, महिला सचिवमा निर्मला श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सदस्यहरुमा मोतीराम श्रेष्ठ, दुर्गा श्रेष्ठ, धनबहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ, मैया श्रेष्ठ र प्रवीणा प्रधानलाई सर्वसम्मत चयन गरेको छ ।

नेवार समुदायको सांस्कृतिक पर्व यःमरी पुन्हीको अवसर पारेर आयोजना गरिएको अधिबेशन तथा साधारण सभाको खुल्ला शत्रमा शुभकामना ब्यक्त गर्दै वक्ताहरुले संस्कार संस्कृतीसंग जोडिएको कुरालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकिएकोमा चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राईले राज्य र राजनीतिसंग बढी आश्रित भएका कारण आम नागरिकको चासो आफ्नै संस्कार संस्कृतीसंग कम भएको बताएका थिए । उनले पहिला समुदायको सबै कार्यक्रममा त्यस समुदायको सबैको आर्थिक तथा भौतिक लगानी रहने गरेका कारण सबैले अपनत्व महशुस गर्ने गरेको तर पछिल्लो समयमा राज्य र राजनीतिसंग बढी आश्रित हुदाँ समुदायको अपनत्वमा कमी आएको बताएका थिए । उनले आफ्नो संस्कार र संस्कृतीको महत्वको बारेमा नयाँ पुस्तालाई नबुझाउने हो भने संस्कृतीको ब्यापार गर्न सकिने तर संस्कार र संस्कृती जोगाउन नसकिने जिकिर गरेका थिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष अनिल मास्केले कार्यक्रममा कम उपस्थिती हुदाँ जिल्ला, प्रदेश लगायतका लागि प्रतिनीधि छनौट कम संख्यामा हुने भएकोले आफ्नो मुद्धालाई सहीढंगबाट माथिल्लो तहमा राख्न नसकिने बताएका थिए । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ, वडा अध्यक्ष अमरबहादुर खड्का, नेवाः देय् दबूका बिभिन्न कमिटीका रहेका नेताहरुले शुभकामना दिएका थिए । नेवाः देय् दबू नगर कमिटीले चौदण्डीगढी नगरपालिकामा पनि नेवार समुदायको हकहित तथा संस्कार संस्कृती जगेर्नाका लागि विभिन्न कार्य गर्दै आएको छ ।