चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने ।

२९ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

  • सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा मानवीय विकास लगायत सबै क्षेत्रको विकासका लागि नगरपालिकाले योजनाबद्धरुपले काम गरिरहेको  नगर प्रमुख लामाको भनाई ।
  • ठुलो बजेटका योजनाहरु प्रदेश र संघीय सरकारको बजेटले मात्र सम्भव हुने भएकोले जनताले प्रदेश र संघीय सांसदहरुलाई पनि यस ठाँउको विकासका लागि दवाव दिनुपर्ने ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने भएको छ । संघीय सहरी विकास मन्त्रालयको झण्डै २ करोड रुपैयाँको लागतमा सो सडक कालोपत्रे हुने भएको हो । आज कसुमचौरीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सो सडकको शिलान्यास गरेका छन् । यस पटक कुसुमचौरीदेखी मकमडाँडासम्म दुई किलोमिटर लम्बाई र साढे पाँच मिटर चौडाईको प्रिमिक्स गुणस्तरको कालेपत्रे निमार्णका लागि मुल्य अभिबृद्धी कर भ्याटसहित एक करोड २२ लाख ७२ हजार ४ सय ८ रुपैयाँमा बाराको सिद्धार्थ निमार्ण सेवाले ठेक्का प्राप्त गरेको कम्पनीका स्थानीय प्रतिनीधि ज्ञान बहादुर श्रेष्ठले जानकारी दिएका छन् । यसै सडक खण्डको बर्खेडाँडा समी चौक खण्डको गत आर्थिक बर्ष परेको योजना विवादका कारण सम्पन्न हुन सकेको थिएन । स्थानीयले १० मिटर चौडा बाटो कालोपत्रे गर्नुपर्छ भनेर विवाद गरेपछि सडक कालोपत्रे हुनसकेको थिएन । विवादका कारण बर्खेडाँडाबाट शुरु भएर कुसुमचौरीमा सम्पन्न हुनुपर्ने योजना यस पटक भने कुसुमचौरीबाट शुरु गरिएको हो ।

सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरपालिकाले सन्तुलित विकासका लागि कार्य गरिरहेको बताएका छन् । सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा मानवीय विकास लगायत सबै क्षेत्रको विकासका लागि नगरपालिकाले योजनाबद्धरुपले काम गरिरहेको लामाको भनाई छ । अघिल्लो पटक पनि यो बाटोमा परेको बजेट स्थानीयबासीसंग सम्झदारी नभएपछि बजेट फ्रिज भएकोमा दुःख लागेको बताउदै नगर प्रमुख लामाले विकास निमार्णमा सबैको सहयोग हुनुपर्ने बताएका थिए । उनले नगरपालिकाले यस क्षेत्रको खानेपानीको समस्या समाधानमा प्रतिबद्धता अनुरुप खानेपानीको ब्यबस्था गरिएको, अब्यबस्थित तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन जग्गा नापजाँचको कार्य सम्पन्न भएको पनि बताएका थिए । नगर प्रमुख लामाले सबै क्षेत्रको विकासमा नगरपालिकाले कार्य गरिरहेको बताउदै अहिले शिक्षा र स्वास्थ्य क्षेत्रको अबस्था नगरमा राम्रो भएको दावी गरेका छन् ।

यस्तै नगर प्रमुख लामाले तिनै तहको सरकार र जनप्रतिनीधिहरु लाग्ने हो भने यस क्षेत्रको विकास हुन समय नलाग्ने पनि बताए । पुल, सडक लगायतका ठुलो बजेटका योजनाहरु प्रदेश र संघीय सरकारको बजेटले मात्र सम्भव हुने भएकोले जनताले प्रदेश र संघीय सांसदहरुलाई पनि यस ठाँउको विकासका लागि दवाव दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईको अध्यक्षतामा भएको थियो ।