२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजो एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास गरिएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा सरिक हुदै सो सडकहरुको शिलान्यास गरेका हुन् । हिजो बुधवार बिहान वडा नम्बर ६ को सिर्वानीमा आयोजित कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ को खम्बु किराँती चोकदेखी नयाँ बस्ती सडक कालेपत्रे योजनाको शिलान्यास गरेका थिए भने लगतै वडा नम्बर ६ कै कालीखोलामा आयोजित कार्यक्रममा वडा नम्बर ६ को कालीखोला – औतारीथान –बेल्टार बजार हुदै वडा नम्बर ८ को कालीटार –हिलेखोला सडक कालेपत्रे योजनाको शिलान्यास थिए । त्यस्तै वडा नम्बर २ मा आयोजित कार्यक्रममा लामेचौरी – माडीबास – बुद्ध चौक सडक कालेपत्रे योजनाको शिलान्यास थिए ।
आर्थिक बर्ष २०८१/८२ मा छुट्टछुट्टै सडक योजनामा संघीय सरकारको शहरी विकास मन्त्रालयबाट १–१ करोड रुपैयाँ विनयोजन भएको थियो । जस अनुसार खम्बु किराँती चोकदेखी नयाँ बस्तीमा ६ सय १० मिटर अक्सफल्ट गुणस्तरको कालेपत्रे र ५० मिटर आरसिसि ढलानयुक्त सडक निमार्ण गरिनेछ भने कालीखोला – औतारीथान सडक खण्डमा ६ सय ५५ मिटर अक्सफल्ट गुणस्तरको कालेपत्रे र ३२ मिटर आरसिसि ढलानयुक्त सडक निमार्ण हुने नगरपालिकाको भौतिक पुर्वाधार शाखाले जनाएको छ । यस्तै वडा नम्बर २ लामेचौरी – माडीबास – बुद्ध चौक सडक खण्डमा ६ सय ५५ मिटर अक्सफल्ट गुणस्तरको कालेपत्रे हुने बताइएको छ । कालीखोला – औतारीथान सडक खण्डको योजना वि. एण्ड वि. निमार्ण सेवाले भ्याटबाहेक ६२ लाख रुपैयाँमा ठेक्का सकारेको बताईएको छ । त्यस्तै लामेचौरी – माडीबास – बुद्ध चौक सडकको कालेपत्रे योजना भ्याटबाहेक ५८ लाख ५४ हजार रुपैयाँमा र खम्बु किराँती चोकदेखी नयाँ बस्ती सडकको कालेपत्रे ६२ रुपैयाँमा सिद्धार्थ निमार्ण सेवाले ठेक्का प्राप्त गरेको नगरपालिकाको भौतिक पुर्वाधार शाखाले जनाएको छ ।
नगरपालिकाका बिभिन्न वडाको सडक खण्ड कालेपत्रेको शिलान्यास गर्दै नगरप्रमुख कालुमान लामाले छिटो छरितो र गुणस्तरीय रुपमा काम सम्पन गर्न निर्देशन दिदै आम उपभोक्तालाई निर्माण कार्यमा सकारात्मक सहयोग गर्न समेत अनुरोध गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष लगायत स्थानीयबासीको उत्साहजनक सहभागिता रहको थियो ।
