२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढी नगरपालिका अन्तर्गतका नीजि बिद्यालयले राजनीतिक दललाई गुहारेका छन् । समसामयिक बिषयमा नीजि बिद्यालयहरुको संगठन नगर प्याब्सनले आज सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बेल्टारबजारस्थित वेलबोट रिसोर्टमा सम्पन्न कार्यक्रममा नगरपालिकामा संचालित संस्थागत नीजि बिद्यालयहरुको समस्याहरुको बारेमा प्याब्सनले नगरमा क्रियाशिल राजनीतिक दलहरुको साझा धारणा तयार गर्नका लागि सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगर प्याब्सनका अध्यक्ष सुनील प्रधानले जानकारी दिएका छन् । पछिल्लो समयमा नगर शिक्षा शाखाले नीजि बिद्यालयहरुलाई छात्रबृती ब्यबस्थापन, बिद्यालयमा कार्यरत शिक्षकहरुलाई बैकिङ्ग प्रणालीमार्फत न्युन्तम पारिश्रमिक दिनुपर्ने लगायतका बिषयमा निरन्तर पत्राचार गर्दै दवाव दिरहेको छ । सोही बिषय तथा नगर शिक्षा शाखा र नगर प्रमुख कालुमान लामाले दिएको अभिब्यक्ति लगायतका कारण नगरमा नीजि बिद्यालयहरु संचालन गर्न कठिनाई भैरहेको भन्दै उनीहरुले राजनीतिक दलहरुलाई गुहारेका हुन् ।
आज सम्पन्न अन्तरक्रिया कार्यक्रमबाट नगरमा संचालित संस्थागत बिद्यालयहरुको नीतिगतरुपमा नियमन नगरी प्रतिसोध साधेर बारम्बार तर्साउने र बिद्यालय बन्द गर्नुपर्नेसम्मको अबस्था सृजना भएकोले नगरपालिकासंग संस्थागत बिद्यालयका समस्याका बिषयबस्तु उल्लेखगरी अनाबश्यक कारवाहीको एक्शन नलिन र बिद्यालय संचालन विना त्रास संचालन गर्ने बाताबरण बनाउन सर्वदलीय प्रतिनीधि मण्डल नगरपालिकामा गई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै संस्थागत बिद्यालयहरुको राज्यप्रति ठुलो लगानी रहेकोले सहकार्य, सहमति कायम गर्दै तत्काल संघीय संसदबाट पुर्ण ऐन कानुन तथा नियमहरु तय भईनसकेकोले मस्यौदाको रुपमा जथाभावी शर्तहरु राखेर संस्थागत बिद्यालहरुलाई स्थानीय पालिकाले कसैप्रति प्रतिसोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै भुपु सैनिक संघ बिद्यालयकी प्रीन्सीपल प्रीया राईले कुनै पनि प्रकारको स्पष्टीकरण दिनु आबश्यक नरहेको पनि निर्णय गरेको छ । नगर अस्पतालमा केही महिना अगाडी एम्बुलेन्स समयमै उपलब्ध नहुदाँ विरामीको मृत्यु भएपछि नगर प्रमुख लामामाथी हातपात भएको घटनामा बिद्यालयकी प्रीन्सिपल प्रीया राईको पनि भुमिका रहेकाले राईले कबुलियत नामा गरेर स्पष्टीकरण नदिएका कारण भारतीय दुताबासले बिद्यालयलाई दिन लागेको स्कुल बसका लागि सिफारिस नदिएको बिद्यालयले आरोप लगाएको छ ।
यसअघि छलफलमा भाग लिदै नगर प्याब्सनको कोषाध्यक्ष समेत रहेकी प्रीन्सिपल राईले ब्यक्तिगत प्रतिसोध साधेर कार्य गरिरहेको जानकारी दिदै सिफारिस दिन आनाकानी गरेको र बिद्यालयका संचालकलाई दवाव दिएको बताएकी थिईन् । यस्तै जिल्ला प्याब्सन उदयपुरका जिल्ला सचिव किशोर ताम्राकारले शिक्षा शाखा नगर प्रमुखकको ब्यक्तिगत ईन्ट्रेस्टमा संचालित भएको आरोप लगाएका थिए । उनले संस्थागत बिद्यालयको योगदानलाई अबमुल्यन गरिएको बताउदै समस्या समाधनमा नगरमा क्रियाशिल दलहरुलाई पहल लिदिन आग्रह गरेका थिए । यस्तै सगरमाथा बोडिङ्ग स्कुलका संचालक तथा प्याब्सनका केन्द्रीय सदस्य जनक कार्कीले बिद्यालय संचालकहरु बिक्षिप्त अबस्थामा पुगेको, नगर प्रमुखको कार्यशैली अराजक रहेको, धम्कीको भाषा प्रयोग भएको बताएका थिए । उनले सामुदायिक बिद्यालयका शिक्षकहरु ५–६ हजार रुपैयाँ मासिक पारिश्रमिकमा काम गरिरहेको तर संस्थागत बिद्यालयका शिक्षकहरुको तलव बैंकिङ्ग प्रणालीबाट पठाउनुपर्ने लगायतको दवाव दिरहेको बताएका थिए ।
छलफलमा सहभागी नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका नगर अध्यक्ष बिकास बन्जरा, माओबादी केन्द्रका नगर अध्यक्ष दिनेश राई, नगर सचिव कुमार राई, त्यस्तै जसपाकी केन्द्रीय सदस्य उर्मिला राई, रास्वपाका नगर अध्यक्ष रमेश बिष्ट , वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले नगरमा संस्थागत बिद्यालयको भुमिका महत्वपुर्ण रहेकोले समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । चौदण्डीगढी नगरपालिकामा हाल २० वटा संस्थागत नीजि बिद्यालयहरु संचालनमा रहेको र त्यसमा ४ हजारभन्दा बढी बिद्यार्थी अध्ययनरत रहेको, ३५० जनाभन्दाबढी शिक्षक कर्मचारी कार्यरत रहेको र झण्डै ५० करोड रुपैयाँको हाराहारीमा संचालकहरुको लगानी रहेको प्याब्सनका जिल्ला सचिव ताम्राकारले जानकारी दिएका छन् ।
