१५ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको दुईबटा वडामा मंसिर १६ गते आईतवार, भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट निर्वाचित पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाटै निर्वाचित चुडाराज काफ्लेको छुट्टाछुट्टै स्थानमा गत बर्ष मृत्यु भएपछि रिक्त वडा अध्यक्ष पदमा भोली उप निर्वाचन हुदैछ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले दुवै केन्द्रमा मतदानस्थल निर्माण कार्य सकिएकोे जनाएको छ । कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरका अनुसार आज विहानदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरिएको हो ।
बेलका ९ को मतदान केन्द्र बरपिपल मावि कमलाबारी र त्रियुगा १२ को मतदान केन्द्र जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा तोकिएको छ । त्रियुगा १२ मा ४ र बेलमा ९ मा ३ वटा मतदान उपकेन्द्र निर्धारण गरिएको छ । जसका लागि मतदान अधिकृत, सहायक अधिकृत र आवश्यक कर्मचारीसमेत तोकेर जिम्मेवारी सुम्पिईसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेलका ९ मा नवराज खड्का क, भवानी कट्टेल ख र विकास भट्टराई ग उपकेन्द्रको अधिकृत तोकिएको निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताले बताएका छन् । त्यसैगरी त्रियुगा १२ मा क, ख, ग र घ उपकेन्द्रका लागि क्रमशः बबिता बस्नेत, विशेकबावु राई, डिल्लीरमण तामाङ र सिर्जना क्षेत्रीलाई मतदान अधिकृत खटाइएको छ । मतदान कार्यक्रम बिहान ७ बजेदेखी शुरु हुने र बेलुकी ५ बजे सम्पन्न हुने मतदान कार्यतालिका रहेको छ ।
उप निर्वाचनमा बेलका ९ मा एमालेबाट मोहन खड्का, काङ्ग्रेसबाट नवराज बस्नेत, माओवादीबाट भरत घिमिरे , त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान वि.क. , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयल र मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्य तामाङ उम्मेदवार छन् । अघिल्लोपटक यस वडामा नेपाली कांग्रेस विजयी भएपनि यस पटकको चुनावमा सबै पार्टीले जनसम्पर्क राम्रो भएका उम्मेदवार उठाएकाले चुनावी प्रतिस्पर्धा थप रोचक हुने बताइएकोे छ । त्यस्तै त्रियुगा – १२ मा नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली काङ्ग्रेसबाट संजिव काफ्ले , नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राई , नेकपा एकिकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राप्रपाबाट लालबाबु साह चुनावी प्रतिस्पर्धामा छन् ।
