१३मंसिर २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले आधा दर्जन वडा सचिवहरुको सरुवा गरेको छ । गत मंसिर ६ र ७ गतेको कार्यालय प्रमुख स्तरीय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
वडा नम्बर ३ आमसाल बसहाका वडा सचिव जगदेव चौधरीको सरुवा वडा नम्बर ९ ज्यामिरेमा गरिएको छ भने वडा नम्बर ९ का वडा सचिव पुष्कल राईलाई वडा नम्बर ३ को सचिवमा पठाइएको छ । त्यस्तै वडा नम्बर ४ का वडा सचिव गुमानसिंह खड्काले पदबाट राजीनामा दिएर अबकाश लिएपछि उनको स्थानमा नगरपालिका अन्तर्गत प्रशासन शाखामा कार्यरत उपेन्द्र कार्कीलाई सचिव बनाइएको छ । यस्तै वडा नम्बर ७ का वडा सचिव हिरा कुमार सापकोटालाई नगरपालिका अन्तर्गत न्यायिक समितिमा सरुवा गरिएको छ भने न्यायिक समितिमा कार्यरत पुष्पराज सापकोटालाई वडा नम्बर ६ को वडा सचिव बनाइएको छ । यस्तै वडा नम्बर १० मै कार्यरत डम्बर बहादुर राईलाई वडा नम्बर १० को वडा सविच बनाइएको छ भने १० नम्बर की वडा सचिव कपिला गिरीलाई नगरपालिका अन्तर्गत प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै फर्जी रसिद काण्डमा नाम मुछिएका वडा नम्बर ६ का वडा सचिव नैन बहादुर खड्कालाई वडा नम्बर ७ को वडा सचिवमा सरुवा गरिएको छ । फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कार्यमा संलग्न भएर जागीर गुमाएकी वडा नम्बर ६ की कर्मचारी दिक्षा ओझाले वडा सचिव खड्काको दवावमा आफुले फर्जी विल रसिद बनाएको बताएकी थिईन् । खड्कालाई उन्मुक्ती दिदै नगरपालिकाले उनलाई वडा नम्बर ७ को वडा सचिवमा सरुवा गरेको हो । यस्तै फर्जी रसिद काण्डको खुलासामा सघाएका वडा नम्बर ६ का कम्प्युटर प्राविधिक दिपेन्द्र चौधरीलाई वडा नम्बर ४ बर्खेडाँडा, बसहामा सरुवा गरिएको छ । त्यस्तै एम. आई. एस. शाखाकी अनुसा राईलाई वडा नम्बर ६ मा सरुवा गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जितबहादुर श्रेष्ठले वडाको कार्यबोझलाई ध्यानदिदै नियमित प्रक्रिया अनुसार उनीहरुको सरुवा गरिएको बताएका छन् । वडा नम्बर ६ का तत्कालिन वडा सचिव नैन बहादुर खड्काको बारेमा लिखित उजुरी नआएको बताउदै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले फर्जी रसिद काण्डबारे भने बोल्न चाहेनन् । चौदण्डीगढी नगरपालिकामा १० वटा वडा रहेको छ । वडा नम्बर १,२,५ र ८ नम्बर वडाको कर्मचारीमा भने कुनै फेरवदल गरिएको छैन ।