चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।

१२ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट भएको छ । वडा नम्बर ६ मा कार्यरत कर्मचारी दिक्षा ओझाले राजश्वको फर्जी रसिद दिएर सेवाग्राहीसंग बढी रकम असुलेको खुलेपछि ओझाको जागीर चैट भएको हो ।  वडा नम्बर ६ मा राजश्व दस्तुरको रसिद फर्जी बनाएर सेवाग्राहीसंग अतिरिक्त रकम असुलेको खुलाशा भएको छ ।

गत कार्तिक ७ गते स्थानीय वडा नम्बर ६ कै सेवाग्राही दयाराम दासको अंशवण्डासम्बन्धी सर्जमिन गरेर सिफारिस दिने कार्यका लागि वडाका कर्मचारी दिक्षा ओझाले २ हजार रुपैयाँ राजश्व शुल्क लिनुपर्नेमा ४ हजार रुपैयाँ शुल्क लिएको र थप ५ सय रुपैयाँ बाटो खर्चसहित ४५ सय रुपैयाँ असुलेर २ दिनपछि फर्जी रसिद दिएकी थिईन । सिर्वानीस्थित वडा कार्यालयमा दयारामका भतिजा महेश दासले दस्तुर वापतको पैसा बुझाएर आएपछि सोही वडामा कार्यरत कर्मचारी कम्प्युटर अपरेटर दिपेन्द्र चौधरीलाई सिफारिसका लागि बढी रकम भुक्तानी गरेको आशंका गर्दै बुझन आग्रह गरेका थिए । चौधरीले सोधखोज गर्दा ओझाले फर्जी रसिद बनाएर राजश्व अपचलन गर्ने गरेको खुलेको थियो । ओझाले महेश दासलाई दिएको ६७२ नम्बर रसिद नागरिकता सिफारिस प्रयोजनका लागि त्यसअघि नै देवीमाया परियारको नाममा काटिएको भेटिएको छ । ओझाले त्यही रसिदलाई ईडिट गरेर दासको नाममा फर्जी रसिद बनाएको देखिएको छ । ओझाले परियारको नाममा काटिएको २ सय रुपैयाँको रसिदलाई ईडिट गरेर अन्य सिफारिस भन्दै एकमुस्ट ४ हजार रुपैयाँको रसिद २ दिनपछि दासलाई उपलब्ध गराएकी थिईन् भने उनले बाटो खर्च थप ५ सय रुपैयाँ पनि दाससंग असुलेकी थिईन् । नगरपालिकाले कारवाही गर्ने भएपछि ओझाले फेरी त्यही रसिदलाई ईडिट गरेर अन्य प्रयोजनको सिफारिस दस्तुर १ हजार रुपैयाँ, घरबाटो सिफारिस दस्तुर ५ सय रुपैयाँ र सर्जमिनका लागि ५ सय रुपैयाँ गरी शिर्षक छुट्टयाएर जम्मा २ हजारको नयाँ रसिद आफुलाई दिएको र यसअघिको रसिद मोवाईलमा खिचेर राखेकोमा त्यसलाई वडा कार्यालयमा बोलाएर ओझाले डिलिट गर्न लगाएको दासले बताएका छन् । उनले ओझाले लिएको बढी रकम केही दिन अघि वडा अध्यक्ष अम्बर बहादुर खड्का र वडा सचिव नैन बहादुर खड्काले घरमै आएर फिर्ता दिएको बताएका छन् ।

यस बिषयमा नगर प्रमुख कालुमान लामा समक्ष गुनासो पुगेपछि नगरपालिका प्रशासनले अस्थायी करारमा कार्यरत ओझालाई राजीनामा दिन लगाएको छ भने वडा नम्बर ६ का वडा सचिव नैन बहादुर खड्कालाई वडा नम्बर ७ र वडा नम्बर ६ मा कार्यरत कर्मचारी दिपेन्द्र चौधरीलाई वडा नम्बर ४ मा सरुवा गरेको छ । यद्यपी ओझाले घरायसी कारण देखाएर राजीनामा दिएको र अन्यको नियमित प्रक्रिया अनुसार सरुवा गरिएको नगरपालिका श्रोतले जानकारी दिएको छ । नगरपालिकाले राजश्व छली जस्तो गम्भिर मुद्धामा दोषी देखिएकी ओझालाई राजीनामा गराएर उन्मुक्ती दिदै घटनालाई सामान्यकरण गर्न खाजेकोमा सेवाग्राही दासले असन्तुष्टी ब्यक्त गरेका छन् । उनले घटनामा संलग्न वडा सचिव नैन बहादुर खड्का, कर्मचारी दिक्षा ओझालाई हदैसम्मको कारवाही हुनुपर्ने बताएका छन् ।

यस घटनामा कर्मचारी ओझाले भने वडासचिव खड्काको निर्देशनमा आफुले दवावमा यस्तो कार्य गर्न पुगेको सेवाग्राही दाससंगको टेलिफोन संवादमा बताएकी छिन् । उनले आफुले यस्तो कार्य गर्न नचाहदाचाहदै पनि वडा सचिवको दवावले यस्तो कार्य गरेको दावी गरेकी छिन् । एता वडा सचिव खड्काले भने आफु कम्प्युटर चलाउन नजान्ने भएकोले कम्प्युटर प्राबिधिक दिक्षा ओझाले नै राजश्व बिलिङ्ग सम्बन्धी कार्य गर्ने गरेको र आफुले रसिदमा हस्ताक्षर मात्र गर्ने गरेको बताएका छन् । उनले गत श्रावण २ गते वडा अध्यक्ष अम्बर बहादुर खड्काको अध्यक्षतामा बसेको वडाको बैठकले सम्पति दस्तुर कर सिफारिस र अन्य दस्तुर वापतको रकम कम्प्युटर अपरेटर दिपेन्द्र चौधरीले संकलन गरी दैनिक वा साप्ताहिकरुपमा बैंक दाखिला गर्ने, यदि उक्त राजश्व रकम समयमा बैक दाखिला नभए वा राजश्व हिनामिना भए चौधरी जवाफदेही हुने तथा चौधरीको अनुपस्थितीमा अर्का कर्मचारी दिक्षा ओझाले राजश्व बुझने सर्वसम्मत निर्णय भएको जानकारी दिदै राजश्व संकलनमा आफ्नो भुमिका रसिदमा हस्ताक्षर मात्र गर्ने भएको दावी गरेका छन् । उनले ओझा यसअघि पनि यस्तो कार्यमा संलग्न देखिएको बताउदै आफु बच्न ओझाले आरोप लगाएको दावी गरेका छन् ।

यस बिषयमा वडा अध्यक्ष अम्बर बहादुर खड्काले भने राजश्व संकलन गर्ने कार्यमा कर्मचारीहरु संलग्न रहने बताउदै आफुलाई राजश्व तिरेको रसिद देखाउदा सिफारिसहरुमा हस्ताक्षर गर्ने गरेको बताउदै आफ्नै कर्मचारीले दिएको रसिद सक्कली वा फर्जी के हो आफुलाई थाहा नहुने बताए । वडा अध्यक्ष खड्काले सेवाग्राही दाससंग बढी लिएको २५ सय रुपैयाँ भने फिर्ता आफुले फिर्ता गर्न लगाएको बताएका छन् ।