१८ मंसिर २०८१, सन्तोष कुमार रौनियार…

“” समावेशी तथा दिगो भविष्यको पू्र्वधार, आपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार “” भन्ने मुल नारा का साथ उदयपुरको चौदण्डीनगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आज मंगलबार वडा नम्बर १ चौदण्डीमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस र लैङ्गिक हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम संयुक्तरुपमा गरेको हो । नगर उपप्रमुख मणिका देवी दुलालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष सिताराम राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर १ ज्यामिरे, कोक्सुलुङ्ग, रानीटार, गडन्ता, पाल्पाली टोल, छुईला, भालुखोप, सिमपानी, कटहरे लगायतका टोलका अपांगता भएका दश जनालाई कानसुन्ने मेशीन (हेयरिङ्ग एड), लठ्ठी, वाकर, बैशाखी लगायतका सहयोग सामाग्री वितरण गरिएको थियो । यस्तै कार्यक्रममा करुणा फाउन्डेसनका प्रतिनिधिले अपांगता सम्बन्धि कक्षा संचालन गरेका थिए भने ईलाका प्रहरी कार्यलय बेल्टारले हिंसा सम्बन्धी जनचेतना मुलक जानकारी दिएको थियो । यस्तै महिला विकास शाखाकी प्रमुख एञ्जेला ढकालले नगरपालिकाको महिला विकास शाखाद्वारा प्रदान गरिने सेवासुबिधा सम्बन्धि जानकारी दिएकी थिईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख दुलालले नगरपालिकाले अघिल्लो बर्ष नगरको भौगोलिकरुपले विकट पहाडी क्षेत्र, वडा नम्बर ८ मा अपांगता दिवस मनाएको जानकारी दिदै अपांगता भएका ब्यक्तिहरुमा जानकारीको अभावका कारण वडा नम्बर १ मा पनि अपांगता परिचय पत्र पाउने लाभग्राहीको तथ्याङ्ग कम देखिएकाले उनीहरुलाई सहजरुपमा घरदैलोमै सेवासुबिधा उपलब्ध गराउन यसपटक चौदण्डीमा कार्यक्रम आयोजना गरिएको बताएकी थिईन् । उनले नगरपालिकाले नगरको दशवटै वडामा अपाङ्गतासम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताउदै गत बर्ष पनि नगरका सबै वडामा अपाङ्गता भएका ब्यक्तिहरुका लागि शिविर संचालन गरेरै सहायक सामाग्री वितरण गरिएको जानकारी दिएकी थिईन् ।
यस्तै नगरपालिकाले हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता “ भन्ने मुल नारा सहित ३३औं अन्तरास्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरको दशबटै वडामा बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।
