१० मंसिर २०८१, सन्तोष कुमार रौनियार…

दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा हिजो उदयपुरको बेल्टार बजारस्थित समाबेशी कभर्डहलमा सम्पन्न भएको बिभिन्न बिद्याका खेलका विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, निवर्तमान नगर प्रमुख खगेन्द्र राई लगायतले नगद पुरुस्कार सहित पुरुस्कृत गरेका थिए । प्रतियोगिता अन्तर्गत कोशी प्रदेश स्तरीय मेन्स डवलसमा उदयपुरका विनय चौधरी र मोरङ्गका लाक्पा शेर्पाको जोडीले संखुवासभाका सुनिल कार्की र मोरङ्गका महेश खड्काको जोडीलाई २२–२४, २१–१७ र २१–१८ को सेटमा पराजित गदैै उपाधी जितेको छ । चौधरी र शेर्पाको जोडीले उपाधीसंगै नगद ३५ हजार र उपविजेता कार्की र खड्काको जोडीले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । डिबिसीका रबिन साउदेन र सन्जुहाङ साउदेन तथा डिबिसीका सत्यम सुब्बा र भोजपुराका बिशाल तामाङ्ग तृतीय भएका थिए । उनीहरुले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै मिक्स डवलसको उपाधी भोजपुरका विशाल तामाङ्ग र उदयपुरकी रोजी राईको जोडीले जितेको छ । उनीहरुले उदयपुरका बिनय चौधरी र पाचथरकी छाया केरुङको जोडीलाई २१–९ र २१ – १३ को सोझो सेटमा पराजित गरेका थिए । उपाधीसंगै तामाङ्ग र राईको जोडीले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै उपविजेता चौधरी र केरुनको जोडीले नगद १२ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । मिक्स डवलसमा संखुवासभाका सुनिल कार्की र इलामका निशाम सुब्बा तथा डिबिसीका सत्यम सुब्बा र योगिता लिम्बुको जोडी तृतीय भएको छ । उनीहरुले नगद ८ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै ४५ प्लस प्रदेश स्तरीय भेट्रान्स डवलस्मा सुन्सरीका भजनलाल चौधरी र उदयपुरका सन्तोष कटुवालको जोडीले सागर फेड प्राईवेटका श्याम लामा र उत्तम सिम्खडाको जोडीलाई २६–२४ र २१–६ को सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको छ । चौधरी र कटुवालको जोडीले उपाधीसंगै नगद २५ हजार र उप विजेता लामा र सिम्खडाको जोडीले नगद १५ हजाररुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको बेल्टार ब्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईले जानकारी दिएका छन् । भेट्रान्स डवलस्तर्फ उदयपुरका बल बहादुर कार्की र चित्र थापा तथा सुन्सरी झुम्काका श्रवण चौधरी र मोरङ्गका बिकास श्रेष्ठको जोडी तृतीय भएका छन । उनीहरुले नगद ८ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसअघि शनिवार सम्पन्न उदयपुर जिल्ला स्तरीय मेन्स डवलस् बी डिभिजनको उपाधी बेल्टार ब्याड्मिन्टन क्लबका खेलाडि देविराज राई र कमल तामाङ्गको जोडीले जितेका थिए । उनीहरुले लील पुलामी मगर र कालु प्रसाद उराँवको टिमलाई सोझो सेटमा पराजित गरेका थिए । प्रतियोगितामा उदयपुर जिल्ला स्तरीय मेन्स डवलस्मा ३६ टिम , कोशी प्रदेश स्तरीय मेन्स डवलसमा २० टिम, मिक्स डवलसमा १४ टिम र भेट्रान्समा २५ टिममा गरी १६८ जना खेलाडी सहभागी भएकोे आयोजकले जानकारी दिएको छ । मंसिर ७ गते शुक्रवारबाट शुरु भएको प्रतियोगिता आईतवार सम्पन्न भएको हो ।
