४ मंसिर २०८१, सन्तोष कुमार रौनियार…
आधारभुत नगर अस्पताल बेल्टारमा आजबाट फिजियोथेरापी सेवा सुचारु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित आधारभुत नगर अस्पतालको सेवा प्रवाहलाई थप ब्यबस्थित र बिस्तार गर्नेक्रममा आजदेखी फिजियोथेरापी सेवा शुरु गरिएको हो । नगर प्रमुख कालुमान लामाले आज सो सेवाको सुरुवात गरेका थिए । फिजियोथेरापी सेवा शुरु भएपछि अब उदयपुर सदरमुकाम गाईघाट र धरान, विराटनगर जस्ता स्थानका अस्पतालमा यो सेवाका लागि जानुपर्ने बाध्यता हट्ने बिश्वास गरिएको छ ।
अस्पतालकी फिजियोथेरापिस्ट प्रियंका तामाङ्गका अनुसारफिजियोथेराी आधुनिक चिकिस्ताको महत्वपुर्ण क्षेत्र रहेको जसले बिशेषगरी हड्डी,मांसपेशी लगायत अन्य अंगहरुको पुनस्थापना र सुधारमा योगदान पुर्याउने बताएकी छिन् । बिशेषगरी हड्डी र जोर्नीको समस्या भएका विरामी उपचार गर्न फिजियोथेरापी सेवाले सहयोग पुग्ने तामाङ्गको भनाई छ । उनले अल्ट्राथेरापी मेशिन, आइएफटी, टेन्स, इलेक्ट्रिक मसल्स् स्टिमेसन्, ट्राक्सन मेशिन लगायतका मेशीनद्वारा हड्डी र जोर्नीको समस्या भएका विरामीहरुको उपचार गरिने जानकारी दिएकी छिन् ।
यस्तै नगर अस्पतालले आजैदेखी आँखाका विरामीहरुलाई पनि सेवा दिने जानकारी दिएका छन् । अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुवेदीले नगर अस्पतालले आजदेखी फिजियोथेरापी सेवा र आँखाको सेवा शुरु गरेको जानकारी दिदै स्वास्थ्य विमा गराएका विरामीहरुलाई निशुल्क औषधी समेत प्रदान गर्ने जनाएका छन् । उनले फिजियोथेरापी सेवा एक हप्तासम्म निशुल्क रहने जानकारी दिदै त्यसपछि भने न्युन्तम सेवा शुल्क लिने बताएका छन् । यस्तै एक हप्ताभित्र दाँतको उपचार पनि नगर अस्पताल बेल्टारमा शुरु गर्ने अस्पतालका प्रमुख ब्यबस्थापक सुवेदीले जानकारी दिएका छन् ।
पछिल्लो समयमा नगर अस्पताल बेल्टारले आफ्नो सेवालाई सुदृढ बनाउदै लगेको छ । यस अघि प्याथोलोजि ल्यावका लागि अत्याधुनिक मेशीन ल्याएर थाईराई, सुगर लगायतका दिर्घरोगको परिक्षण शुरु गरेको थियो । यस्तै बिहान १० बजेदेखी मात्रै खूलने अस्पताललाई शनिवार बाहेक बिहान ७ बजेदेखी नै हरेक दिन खुल्ने ब्यबस्था गर्नुका साथै एमविविएस डाक्टर समेत थपेर सेवा दिदै आएको छ ।