१४ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले चाडपर्वको मौलिकता हराउदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । नगरपालिकाले बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नेपालीहरुको महान चाड वडा दशै, तिहार, दिपावली, नेपाल संम्वत, छठ पर्व, फाग्नुनन्द जयन्ती एवंम उधौली लगायतको चाडपर्वको उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नेपालीहरुले मनाउदै आएको चाडपर्वमो मौलिकता हराउदै गएको र कृतिमता बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । चाडपर्वहरुले हामीलाई अनुशासित बनाउने भन्दै नगर प्रमुख लामाले आजको आबश्यक्ता एकता र सह अस्तित्व रहेको र स्थानीय सरकारले यस्को नेतृत्व गर्ने पनि बताए । यस्तै नगर प्रमुख लामाले सुशासन कायम हुन सबै जना कर्तव्यनिष्ठ हुनुपर्ने बताए । सुशासनको कुरा गर्ने तर आफु जिम्मेवार नहुने हो भने उपलब्धी हासिल गर्न नसकिने बताए । उनले सबैलाई जिम्मेवार भएर कार्य गर्न आग्रह गर्दै सुशासनका लागि आफुबाटै लागु गरेर कार्य गर्ने पनि बताए ।
यस्तै नगर प्रमुख मणिकादेवी दुलालले पनि चाडपर्वमा बिकृती बढदै गएको बताएकी थिईन् । उनले अहिले तिजको दर १ महिना अघिबाटै खाने चलन चलेको, तिहारमा देउसी खेल्नेहरु एक हप्ताअघिबाटै घर–घरमा आउन थालेको बताएकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा चौदण्डीगढी नगर ईन्चार्ज कान्ता राई, एमाले नगर अध्यक्ष विकास बन्जरा, माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टीकी नगर अध्यक्ष अन्जना राई, कांग्रेस उदयपुर जिल्ला सदस्य भुवनमान श्रेष्ठ, बिभिन्न वडाका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु , पत्रकार लगायत नगरमा कार्यरत कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैले एक अर्कालाई शुभकामना दिएका थिए ।
नगरपालिका प्रत्येक बर्ष दशैंतिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस बर्ष पनि दशैंको शुरुमै शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भनिएको भएता पनि गत असोज दोश्रो साता आएको बाढीपहिरोको कारण देशैभर अपुरणीय क्षती भएर शोक परेपछि नगरपालिकाले ढिलो गरी आज कार्यक्रम गरेको हो ।