१८असोज २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाबीच चौदण्डीगढी नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध् गराउने सम्बन्धी सम्झौता भएको छ । आज शुक्रवार बेल्टार बजारस्थित नगर प्रमुख कालुमान लामाको कार्यकक्षमा स्वास्थ्य सहायता कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका भित्रका विपन्न, आर्थिक अबस्था कमजोर भएका , रगतको खर्च ब्यहोर्न नसक्ने बासिन्दाका लागि आकस्मिक अबस्थामा नगरभित्रको बासिन्दाको लागि नागरिकता वा सवारी चालक अनुमतिपत्र वा मतदाता पचिय पत्र वा राष्ट्रिय परिचय पत्र लगायत प्रमाणको प्रतिलिपी पेश गरेको आधारमा रक्त संचार सेवा केन्द्र गाईघाट बोक्सेमार्फत विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने समझदारी भएको छ ।
सम्झौता अनुसार रेडक्रसले एक सय युनिट रगत आपूर्ती गर्ने बताइएको छ । सम्झौतामा कार्यक्रम शुरु भएको पहिलो ३ महिनापछि पहिलो किस्ता र २०८२ साल असार १५ गतेभित्र अन्तिम किस्तामा वापत निःशुल्क रगत सिफारिस फर्मका आधारमा एक लाख दश हजार रुपैयाँ पालिकाले रेडक्रसलाई अनुदान दिनुपर्ने उल्लेख छ । यस्तै निशुल्क रगत आपूर्ती सेवा कार्यलाई प्रभावकारीता प्रदान गर्न नगरपालिका र रेडक्रसले संयुक्त अनुगमन गरी आबश्यक सुधार गर्नुपरेमा आपसी सम्झदारीमा गर्ने जनाइएको छ । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख लामा र रेडक्रसकोतर्फबाट जिल्ला सभापति मदनराज कटुवालले हस्ताक्षर गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाले यस्तै किसिमको सम्झौता यस अघि उदयपुर कै त्रियुगा नगरपालिकासंग पनि गरेको थियो ।