१६असोज २०८१, सन्तोष कुमार रौनियार…
नेपाल राष्ट्रिय शिक्षण संगठन चौदण्डीगढीले वडा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । वडा नम्बर ४ बर्खेडाँडास्थित लालीगुराँस महिला भवनमा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिकाका नगर प्रमुख कालुमान लामा, नेपाल राष्ट्रिय शिक्षण संगठनका कोशी प्रदेश महासचिव दिल बहादुर फुयल, नेपाल शिक्षक महासंघ उदयपुरका जिल्ला अध्यक्ष दिनेश ढुंगाना, नेपाल पेशागत महासंघ उदयपुरका जिल्ला अध्यक्ष कुमार खड्का, नेपाल राष्ट्रिय शिक्षण संगठनका उदयपुर जिल्ला अध्यक्ष यादव बस्नेत, शिक्षक संघ चौदण्डीगढीका नगर सभापति देव नारायण चौधरी, ज्योति जनता बहुमुखी क्याम्पस सातधारे बेल्टारका क्याम्पस प्रमुख मनोज कुमार झा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख लामाले नगरपालिकाले चालेका कदमहरु शिक्षा क्षेत्रको सुधारका लागि रहेको कुरा सबैले महसुस गरेकोमा खुशी ब्यक्त गरेका थिए । सबैको साथ सहयोगमा सामुदायिक बिद्यालयको स्तर सुधार गर्न सकिने बताउदै नगर प्रमुख लामाले नगरमा संचालित सामुदायिक र नीजि बिद्यालयको स्तर एकै बनाउन क्रियाशिल रहेको बताएका थिए । नगर प्रमुख लामाले चाडबाड मनाउदा छिमेकीमा समेत खुशीयाली छाउने तरिकाले मनाउनुपर्ने बताउदै चाडपर्व भड्किलो नभई सामान्य हिसावले मनाउन आग्रह गरेका थिए । यस्तै नगर प्रमुख लामाले भर्खरै अबकाश पाउनुभएका शिक्षक भरत झा आफैमा नगरमा शिक्षा क्षेत्रको व्राण्ड रहेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा भर्खरै अबकाश पाउनुभएका ज्योती मावि बेल्टारका शिक्षक भरत झा र चौदण्डीगढी नगरपालिकाबाट मावी स्थायी शिक्षकमा नाम निकाल्न सफल अन्य तीनजनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित शिक्षक भरत झाले निःस्वार्थभावले कार्य गर्दा समाजले पनि सम्मान गर्ने पुष्टी भएको बताएका थिए । उनले शिक्षण पेशा कमाउने पेशा नभएकोले यसलाई सम्मानित पेशा बनाउन शिक्षक, बिद्यार्थी, अभिभावक सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षण संगठन चौदण्डीगढीका नगर अध्यक्ष नारद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।