बंशिलाघाटका बाढी पीडितहरुलाई कांग्रेस र राष्ट्रिय युवा संघद्वारा खाद्यान्य सहयोग ।

१४असोज २०८१, सन्तोष कुमार रौनियार…

दुधकोशी नदीमा आएको बाढीका कारण चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ बंशिलाघाटका बाढी पीडितहरुलाई नेपाली कांग्रेस र राष्ट्रिय युवा संघले खाद्यान्य सहयोग गरेको छ । छुट्टछुट्टैरुपमा बंशिलाघाट पुगेका कांग्रेस र युवा संघको टोलीले पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईको नेतृत्वमा कांग्रेस नेताहरुको टोलीले पीडित ९ घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको नेपाली कांग्रेस चौदण्डीगढीका नगर सचिव रोहितमान तामाङ्गले जानकारी दिएका छन् । राई नेतृत्वको टोलीले पीडित परिवारलाई जनही चावल २५ केजीको १ बोरा, भुजा ५ केजीको १ बोरा, दाल ३ केजी, तेल २ पोका, नुन १ पोका, चाउचाउ ५ पोका, आलु ५ केजी र चिउरा ३ केजीको दरले वितरण गरेको तामाङ्गले बताएका छन् । पीडितहरुलाई राहत सामाग्री वितरण गर्दै पुर्व नगर प्रमुख समेत रहेका राईले आफ्नो पालामा आगलागी वा बाढी लगायतका कारण घरबार बिहिन भएकाहरुलाई ३ लाख रुपैयाँसम्म नगरपालिकाबाट सहयोग प्रदान गर्ने गरिएको जानकारी दिदै यसका लागि आफुले पहल गर्ने समेत बताएका थिए ।
यस्तै आज नै राष्ट्रिय युवा संघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको नेतृत्वमा युवा संघका नेताहरुको टोलीले पनि बंशिलाघाटका बाढीपीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । राई नेतृत्वको टोलीले पीडित परिवारलाई चावल २५ केजीको ८ बोरा , दाल ८ केजी, तेल १ कार्टुन, नुन १० पोका र चाउचाउ ८ कार्टुन वितरण गरेका थिए । राई नेतृत्वमा एमाले चौदण्डीगढीका नगर सचिव मिना राई लगायत युवा संघका नेता कार्यकताहरुको टोली राहत वितरण गर्न पुगेका थिए ।

यसअघि हिजो मात्र कोशी प्रदेश सांसद तथा नेकपा माओवाीका नेता राजन किराँतीले बंशिलाघाट पुगेर स्थलगत निरिक्षण गर्नुका साथै बाढीपीडितहरुसंग भेटघाट गरेका थिए । २ दिन अघि दुधकोशीमा आएको बाढीले बंशिलाघाटमा २ वटा घर बगाउनुको साथै लाखौको क्षती पुर्याएकोे थियो ।