बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिता असोज १५ गतेदेखी संचालन हुने ।

१२ असोज २०८१, सन्तोष कुमार रौनियार…

२८ औं संस्करणको खसी कप प्रतियोगिता आगामी असोज १५ गतेदेखी संचालन हुने भएको छ । चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको नाम यस पटक परिमार्जित गर्दै बेल्टार दशैं कप राखिएको छ । बेल्टार बजारस्थित होटल बेलबोटमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक कल्याण चौकले प्रतियोगिताको नाम परिवर्तन गरेर बेल्टार दशैं कप राखिएको जानकारी दिएको छ ।आयोजक कल्याण चौकका सल्लाहकार बुद्ध सुप्तिहाङ्ग राईले चौक स्तरीय प्रतियोगितालाई अलिक फराकिलो बनाउने उदेश्यले प्रतियोगिताको नाम परिवर्तण गरिएको बताएका छन् । उनले यस पटकबाट प्रतियोगितामा खेलाडीलाई टिम प्रबेशमा खुल्ला गरिएको पनि जानकारी दिएका छन् । अघिल्लो पटकको विजेताले आयोजकको भमिका पाउने प्राबधानअनुसार कल्याण चौकले प्रतियोगिताको यस पटकको आयोजकको जिम्मेवारी पाएको छ । अघिल्लो बर्ष आयोजक दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको श्रीपञ्चमी टिमलाई १ – ० गोल अन्तरले पराजित गर्दै कल्याण चौकले उपाधीसंगै आयोजकको जिम्मेवारी पाएको थियो ।

पत्रकार सम्मेलनमा आयोजक कल्याण चौकका कार्यबहाक अध्यक्ष विशाल राईले यस पटक प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको र प्रतियोगिता असोज १५ गतेदेखी असोज २५ गतेसम्म संचालन हुने जानकारी दिएका छन् । उनले प्रतियोगिताको विजेताले अर्को पटकको आयोजकको जिम्मेबारीसंगै खसी, ट्रफी, मेडल र नगद पुरुस्कार प्राप्त गर्ने , त्यस्तै उपविजेताले २० केजी कुखुरा, ट्रफी, मेडल र नगद पुरुस्कार प्राप्त गर्ने बताएका छन् । त्यस्तै विद्यागतरुपमा उत्कृष्ट सात बिद्याका उत्कृष्ट खेलाडीलाई ट्रफी र नगद पुरुस्कार र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद १५ सय रुपैयाँ र मेडल प्रदान गरिने जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन टिमले ३५ सय ५० रुपैयाँ ईन्ट्री फि को रुपमा बुझाउने पर्नेछ भने प्रतियोगिता संचालनमा करिव ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि नगरपालिका, वडा कार्यालयहरु, प्रायोजक र देश विदेशमा रहेका सहयोगीहरुलाई आग्रह गरिएको राईले बताएका छन् । प्रतियोगिता अन्तर्गतका सबै खेलहरु बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा खेलिने र एन्फको नियमअनुसार खेल खेलाईने आयोजकले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा प्रतियोगिताको खेल तालिका ट्राईसिट पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल असोज १५ गते आयोजक कल्याण चौक निलो र बरगाछी टिमविच हुनेछ । यस्तै प्रतियोगिताको क्बाटर फाईनलका खेलहरु असोज १९ गतेबाट शुरु हुनेछ । त्यस्तै पहिलो समेफाईनल खेल असोज २३ गते र दोश्रो सेमिफाईनल खेल असोज २४ गते हुनेछ । फाईनल खेल भने असोज २५ गते दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।