१०औं संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता असोज १७ गतेदेखी संचालन हुने ।

०५ असोज २०८१, सन्तोष कुमार रौनियार…

१० औं संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी असोज १७ गतेदेखी संचालन हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बसहामा बस्ती बसाउने योजनाकार, प्रजातान्त्रिक सेनानी, २००७ सालका क्रान्ति योद्धा तथा पूर्व मन्त्री स्वर्गीय नारदमुनि थुलुङको स्मृतीमा बसहा क्लबको आयोजनामा यही असोज १७ गतेदेखी असोज २४ गतेसम्म वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनि रंगशालामा प्रतियोगिता संचालन हुने बसहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिएका छन् ।

आज बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको सभाहलमा भएको पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार शेखर राईले प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौँ, सलेहस क्लब सिराहा र सङ्कटा एफ.सी. काठमाडौँ गरी ८ टिमको सहभागिता हुने बताएका छन् । उनले विजेताले उपाधीसहित नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले नगद २ लाख २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरुस्कार प्राप्त गर्ने जानकारी दिएका छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने तथा प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिड फिल्डर, वेस्ट किपर लगायत ७ वटा अन्य बिद्याका खेलाडीलाई पनि नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने राईले बताएका छन् । राईजिङ्ग प्लेयरको उपाधी भने बसहा क्लबका उदयमान खेलाडीलाई मात्र प्रदान गरिने उनले बताएका छन् ।

यस्तै क्लबका अध्यक्ष गौतम राईले प्रतियोगिता संचालनका लागि अनुमानित ४० लाख रुपैयाँ खर्च लाग्ने र क्लबले यस पटक ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताएका छन् । बसहा घर भएर देश विदेशमा रहेका बसहाबासी, स्थानीय निकाय, प्रायोजक र टिकट बिक्रीबाट सो रकम आम्दानी गर्ने लक्ष्य लिएको बताउदै राईले वचत भएको रकमबाट अक्षय कोषको निमार्ण गरिने जानकारी दिएका छन् ।