संविधान दिवसको अवसरमा चौदण्डीगढीमा दिप प्रज्वोलन ।

०३ असोज २०८१, सन्तोष कुमार रौनियार…

संविधान दिवस तथा राष्ट्रिय एकता दिवस, २०८१ को अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि दिप प्रज्वोलन गरी मनाइएको छ । नगरको बेल्टार बजारस्थित विपी चौक, पुष्पलाल चौक यस्तै बसहास्थित नारद आदर्श चौक लगायतका स्थानमा  आज विहिवार मैनवत्ती बालेर दिप प्रज्वोलन गरी दिवस मनाइएको छ । नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा अध्यक्षहरु, पुर्व मेयर खगेन्द्र राई लगायत राजनीतिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थितीमा दिप प्रज्वोलन गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाको आयोजनामा भएको दिप प्रज्वोलन कार्यक्रमलाई बसहामा सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले अहिलेको संबिधान बिभिन्न खाले आन्दोलनको साझा उपलब्धी रहेको बताउदै राजनीतिक दलका विचारहरु फरक भए पनि विकास निमार्ण र साझा मुद्धामा नगरमा क्रियाशिल सबै राजनीतिक दलहरु एक रहेको सन्देश दिएको बताएका छन् । उनले संबिधान संसोधनको बिषय पनि उठिरहेकोले सबैको भावना र मागहरुलाई समेट्ने गरी संसोधन हुने बिश्वास ब्यक्त गरेका छन् । सोक्रममा प्रजातान्त्रिक सेनानी स्वर्गीय नारदमुनी थुलुङ्गलाई समेत आफुले सम्झिन चाहेको उनले बताएका थिए । यस्तै बेल्टार बजार विपी चौकस्थित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले संबिधानमा लेखिएको कुराहरु अक्षरसः पालना हुनुपर्ने र त्यसलाई ब्यबहारमा उतार्नुपर्ने आबश्यक्ता रहेको बताएका थिए । स्थानीय सरकार नजिकको सरकार भएको बताउदै राईले सबैको भावनालाई समेटेर लानुपर्ने बताएका थिए भने बेल्टार बजार पुष्पलाल चौकस्थित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा एमाले नगर ईन्चार्ज कान्ता राईले देशलाई शान्तिमय, बिकास उन्नमुख बनाउन सबै जना लाग्नुपर्ने बताएकी थिईन् ।

आज भएको दिप प्रज्वोलन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, कांग्रेस नेता भोजराज खतिवडा लगायतले पनि शुभकामना दिएका थिए ।