०१ असोज २०८१, सन्तोष कुमार रौनियार…

चाडवाड नजिकिएसंगै उदयपुरको चौदण्डीगढी नगरपालिकाले बजार अनुगमनलाई त्रिव्र बनाएको छ । हिजो मात्र नगर उप प्रमुख मणिकादेवी दुलाल नेतृत्वमा बसहा क्षेत्रका पसलहरुको अनुगमन गरेको थियो भने आज वडा नम्बर ८ विरेन्द्र बजारस्थित पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमनका संयोजक श्रीकान्त चौधरीको नेतृत्वमा आज विरेन्द्र बजारमा रहेका पसलहरुमा अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा २० हजार रुपैयाँभन्दा बढी रकमको म्याद सकिएको मालसमान जफत गरेर नष्ट गरिएको छ । पसलहरु नगर तथा वडा कार्यालयमा दर्ता नै नभई संचालनमा रहेका तथा पसलहरुमा म्याद गुज्रेको सामानहरु बेचविखन हुने गरेको गुनासो आएपछि नगरपालिकाले बजार अनुगमनलाई फेरी शुरु गरेको छ ।
लामो समयपछि गरिएको नगरपालिका स्तरीय बजार अनुगमनमा खाद्यान्य, चिसो पेय पदार्य, कस्टमेटिक लगायतमा म्याद सकिएको २० हजार रुपैयाँभन्दा बढीको सामाग्री नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमनमा संलग्न सामाजिक शाखा प्रमुख नवराज बरालले जानकारी दिएका छन् । अनुगमनको क्रममा पसल, ब्यबसाय वडा वा नगर कार्यालयमा दर्ता र नविकरण भए नभएको , त्यस्तै कर कार्यालयमा दर्ता रहे नरहेको, उद्योग बाणिज्य संघमा दर्ता रहे नरहेको कागजात हेर्नुको साथै म्याद गुज्रेको सामानहरु बरामद गरि नष्ट नगरिएको वरालले जानकारी दिएका छन् । ब्यबसाय दर्ता नरहेको ब्यापारीहरुलाई यहि असोज मसान्तसम्ममा अनिवार्यरुपमा सम्बन्धित निकायमा दर्ता तथा नविकरण गर्न निर्देशन दिएको बरालले बताएका छन् ।
अनुगमनमा जनप्रतिनीधि ,नगरपालिकाका कर्मचारी, पत्रकार, जनपद प्रहरी, नगर प्रहरी, बेल्टार बसहा उद्योग बाणिज्य संघका प्रतिनीधि, बजार ब्यबस्थापन समितिका प्रतिनीधि लगायतको सहभागिता रहेको थियो ।
