२८ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगरेपछि चौदण्डीगढीमा जनप्रतिनीधि र वडा सचिवलाई तनाव भएको छ ।पटक पटक सार्वजनिक सुचना जारी गरेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र कार्ड नवीकरण गर्न आग्रह गरेपनि लाभग्राही सम्पर्कमा नआएपछि जनप्रतिनीधि र वडा सचिवले आफ्नो वडाका लाभग्राहीलाई टेलिफोन सम्पर्क गरेरै ब्यक्तिगतरुपमा नवीकरण गर्न आग्रह गरिरहेका छन् ।
वडा नम्बर ६ का वडा सदस्य कमल कार्कीले सम्बन्धित लाभग्राहीको मोवाईल नम्बर मागेर उनीहरुसंग परिचयपत्र नवीकरण गर्न आग्रह गरिरहेको बताएका छन् । वडामा अझै १४८ जनाले परिचयपत्र नवीकरण नगराएको जानकारी दिदै वडा सदस्य कार्कीले उनीहरुको परिवारको माध्यमबाट सुचना पठाउनुको साथै मोवाईलमा पनि सम्पर्क गरेर आग्रह गरेको जानकारी दिएका छन् । एता वडा नम्बर १ का वडा सचिव भोजराज अधिकारीले सामाजिक संजालमा परिचय पत्र नविकरण गराउन छुटेका लाभग्राहीको नामावली नै प्रकाशित गरेर वडा कार्यालयमा आबश्यक कागजात सहित उपस्तिथी भएर परिचयपत्र नवीकरण गर्न आग्रह गरेका छन् । यस्तै वडा नम्बर ७ का वडा सदस्य राजेश श्रेष्ठले पनि लाभग्राही सम्पर्कमा नआउने र नविकरणमा छुटेमा उल्टै दोष लगाउने गरेको बताउदै यसले तनाव सृजना गरेको बताएका छन् । उनले वडामा धेरै लाभग्राहीले परिचय पत्र नविकरण नगराएकाले उनीहरुलाई समयमै आएर नविकरण गराउन आग्रह पनि गरेका छन् ।
नगर सामाजिक सुरक्षा भत्ता हेर्ने एम आई एस शाखाकी कर्मचारी रमिता पौडेलका अनुसार नगरमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ६ हजार ३ सय भए पनि अझै ७ सय जनाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण नगरेको जानकारी दिएकी छिन् । यहि भदौ मसान्तसम्ममा परिचय पत्र नविकरण नभएमा उनीहरुको नाम प्रणालीबाट स्वतः हट्ने र त्यस्ता लाभग्राहीले पुःन सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह आवेदन दिनु पर्ने उनले बताएकी छिन् । उनीहरुले समयमै नवीकरण नगरे सामाजिक सुरक्षा भत्ताको रकम २०८१ श्रावण १ देखि उपलब्ध नहुने पौडेलले जानकारी दिएकी छिन् ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका ब्यक्ति, अति अशक्त अपाङ्गता भएका ब्यक्ति, पाँच वर्ष उमेर ननाघेका दलित बालबालिका र लोपोन्मुख आदिवासी जनजाती लगायतलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।
