२१ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा देश तथा बिदेशका विभिन्न स्थानमा निराहार ब्रत बसेका महिलाहरुले सांगितिक कार्यक्रममा सहभागी भएर नाचगान गरी रमाईलो गरेका छन् । यसैक्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नगर स्तरिय महिला संजालले आज तिज बिशेष नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा नगरको बिभिन्न वडाका महिला दिदीबहिनीहरुले आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
चौदण्डीगढी नगरपालिकाको सहयोगमा आयोजित तिज बिशेष नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले तीज हिन्दु महिलाहरुको मात्र नभएर सबै महिलाहरुको राष्ट्रिय पर्व बन्दै गएको बताएका थिए । उनले कार्यक्रमलाई नगरपालिकाको सहयोग रहेको जानकारी दिदै कार्यक्रमलाई अझै ब्यापक बनाउन नगर कार्यपालिकाले अर्को बर्षको तीज नृत्य प्रतियोगिता हडियामा संचालन गर्ने निर्णय गरेको बताएका थिए । यस्तै र प्रमुख लामाले सबै मिलेर हार्दिकताको साथ एक अर्काको चाडपर्वमा सहभागी हुने नेपाली चलन भएकाले सबै जातजातीको कला, संस्कृती, रितीरिवाज तथा परम्परालाई सम्मान गर्नुपर्ने बताएका थिए ।
नृत्य प्रतियोगितामा २० जना सहभागी भएकोमा अन्जली बिश्वकर्मा प्रथम, सुजता राई द्धितिय, रोशिका खड्का तृतीय र प्रीयन्का राईले सान्तवना पुरुस्कार प्राप्त गरेका थिए । उनीहरुलाई प्रमुख अथिती नगर प्रमुख कालुमान लामाले पुरुस्कार प्रदान गरेका थिए । तीज पर्वको अवसरमै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ बसहाथान मन्दिरमा पनि बिशेष कार्यक्रम आयोजना गरिएको थियो भने दुबै स्थानमा राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले निःशुल्क पानी वितरण गरेको थियो । यस्तै नगरको अन्य वडाहरुमा पनि बर्तालु महिलाहरु सामुहिकरुपमा भेला भएर नाजगानमा गर्दै तीज रमाईलासंग मनाएको हाम्रा सम्बाददाताहरुले जानकारी दिएका छन् ।