तिजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीद्वारा अटो चालक महिलाको सम्मान ।

१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा चार जना अटो चालक महिलाहरु सम्मानित भएका छन् । बेल्टार बजारस्थित होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा उनीहरुलाई कोशी प्रदेश सभा सदस्य सम्झना तामाङ्ग, कोशी प्रदेश सभा सदस्य राजन किराँती, संविधान सभा सदस्य मणि खम्बु लगायतले कदरपत्र र नगदसहित सम्मान गरेका थिए । सम्मान पाउनेहरुमा अटो चालक महिलाहरु उषा सुनुवार राई, मैया श्रेष्ठ, राधा विष्ट र बविता राई रहेका छन् । हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रत्येक वर्ष यसैगरी रचनात्मक तथा सृजनात्मक काम गर्दै आएकोले यस पटक पनि स्वरोजगार महिला दिदीबहिनीहरुलाई सम्मान गरिएको माओबादी केन्द्र चौदण्डीगढी नगर कमिटीकी उपाध्यक्ष हिरा थापाले बताएकी छिन् ।

कार्यक्रमलाई सम्बाधेन गर्दै प्रदेश सांसद राजन किराँतीले परम्पराबादी सोचले मात्र तीज मनाउने भन्दा पनि उत्पिडनमा परेका, अन्यायमा परेका महिलाहरुले संगठित हुने अबसरको रुपमा लिनुपर्ने बताएका थिए । उनले दर खाने र नाच्ने भन्दा पनि यसले महिलाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने बताएका थिए । यस्तै कोशी प्रदेश सांसद सम्झना तामाङ्ग र नेकपा माओवादी केन्द्रकी संघीय सदस्य तथा उदयपुर जिल्ला इञ्चार्ज मणि खम्बूले अधिकार मागेरभन्दा पनि खोसेर लिनुपर्ने बिषय भएकाले संगठित भएर आफ्नो अधिकारको लागि लड्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दर खाएर तथा नाचगान गरेर सहभागीहरुले रमाईलो गरेका थिए । यसअघि हिजो मात्र नेकपा एमाले निकट अखिल महिला संगठन र नेपाली कांग्रेस निकट महिला संघ चौदण्डीगढी नगर समितिले पनि तिजको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।