१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको छ । आज बेल्टार बजारस्थित सिटी हलमा एक कार्यक्रमको आयोजना गरेर पालिकाले सहयोग सामाग्री वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश तथा करुणा फाउण्डेशन नेपालको सहकार्यमा अपाङ्गता भएका ६३ जनालाई आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले सहयोग सामाग्री प्रदान गरेका थिए । आज सहयोग सामाग्री प्राप्त गर्न नसकेका अन्य लाभग्राहीलाई पालिकाले वडा वडामा गएर वितरण गर्ने नगर महिला तथा बालबालिका शाखा प्रमुख एञ्जोला ढकालले जानकारी दिएकी छिन् । १८८ जना लाभग्राही मध्ये आज ६३ जनालाई सहयोग सामाग्री वितरण गरेको र अरुलाई सम्बन्धित वडा कार्यालयको समन्वयमा वितरण गर्ने उनको भनाई छ ।
नगरपालिकाले मुल्य अभिबृद्धी करसहित ४ लाख ७७ हजार ८ सय ७७ रुपैयाँको लागतमा म्याट ३ थान, ट्वाईलेट चेयर ९ थान, ह्विल चेयर ५ थान, सेतो छडी २ थान, कानको मेशिन ८४ थान, त्यस्तै बैशाखी २९ थान, छडी २९ थान, वाकर १९ थान र एल्बो बैशाखी ३ थान वितरण गरेको छ । गत जेठ २१ गतेदेखी जेठ २८ गतेसम्म पालिकामा संचालन भएको सप्ताहब्यापी अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता परिचय पत्र वितरण तथा आबश्यक्ता पहिचान शिविरबाट प्राप्त तथ्यांकका आधारमा उनीहरुलाई सहायता सामाग्री प्रदान गरिएको नगर उप प्रमुख मणिकादेवी दुलालले जानकारी दिएकी छिन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, चौदण्डीगढी नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंगको प्राधिबिक सहयोगमा नगरको सुन्दुरपुर, हडिया, चौदण्डी, सिद्धिपुर, आमसाल, झोडापाटा, बसहा र बेल्टारमा संचालन भएको शिविरमा बिशेषज्ञ चिकित्सकद्वारा अपाङ्गता भएका ब्यक्तिहरुको प्रारम्भिक चेकजाँच गरेर उनीहरुको आबश्यक्ता पहिचान गरी परिचय पत्र वितरण गरिएको थियो ।
सहयोग सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले असहाय, गरीव र निमुखाहरुको लागि स्थानीय सरकार रहेको भन्दै स्नगरपालिकाले अपाङ्गता भएकाहरुलाई सहयोग सामाग्री वितरण गरेको बताएका थिए । उनले अपाङ्गता भएका ब्यक्तिहरुको सहारा र अभिभावककोरुपमा नगरपालिका रहेको बताउदै अपाङ्गता रोकथाम तथा पुनः स्थापनाका लागि सहयोग सामाग्री प्रदान गरिएको र अपाङ्गता भएका ब्यक्त्हिरुलाई आबश्यक सिप सिकाएर आत्मनिर्भर बनाई समाजमा पुनःस्थापना गर्न सहयोग गर्ने बताएका थिए । यस्तै नगर उप प्रमुख मणिकादेवी दुलालले धेरै जनाको चासो सामाजिक सुरक्षा भत्तामा मात्र केन्द्रीत रहेकोप्रति असन्तुष्टी ब्यक्त गर्दै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण, उनीहरुलाई सिपमुलक तालिम प्रदान लगायतले अपाङ्गता भएका ब्यक्तिहरुको जीवनयापन सहज हुने बताएकी थिईन् । नगरपालिकाले संचालन गरेको अपाङ्गता सम्बन्धि शिबिरबाट अपाङ्गता परिचय पत्र प्राप्त गरेका ब्यक्तिहरुले थुप्रै प्रकारका सुबिधाहरु प्राप्त गर्नसक्ने दुलालको भनाई थियो । सहयोग सामाग्री प्राप्त गरेका लाभग्राहीले खुशी ब्यक्त गर्दै सहयोग सामाग्रीले दैनिक जिवन सहज हुने बताएका थिए ।