चौदण्डीगढी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्ने बिषयमा छलफल ।

१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्ने बिषयमा विहिबार छलफल भएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरका साना किसानहरुलाई कसरी समेट्ने , कुन वडामा कस्तो कार्यक्रम संचालन गर्ने, कृषकको माग परियोजनामा कसरी समेट्ने लगातका बिषयमा छलफल भएको थियो । छलफलबाट सहभागी अगुवा किसानका माग बमोजिम नगरको वडा नम्बर ३, ४, ५, ९ र १० मा बहुबाली कृषी जोन र वडा नम्बर १, २ र ८ लाई बाख्रा पशु जोनको रुपमा बिकास गर्ने उदेश्यले क्षेत्र निर्धारण गरिएको छ । बहुबाली कृषीतर्फ धान, मकै र आलुको ब्यबसायिक खेती तथा पशुतर्फ बाख्राको ब्यबसायिक पालन गरिनेछ ।

संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई जोन, सुपर जोन, पकेट र ब्लक क्षेत्र निर्माण गरेर काम गर्दै आएको छ । जस अन्तर्गत स्थानीय तह मार्फत पकेट क्षेत्र, प्रदेश सरकारको कृषि ज्ञान केन्द्र मार्फत ब्लक क्षेत्र र संघिय सरकारको परियोजना इकाई मार्फत जोन र सुपर जोन क्षेत्र बनाएर काम गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरलाई खाद्यान्न र मासुजन्य क्षेत्रमा आत्मनिर्भर बनाउन बिभिन्न कार्यहरु गरिरहेको बताउदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले त्यसमा सघाउ पुर्याउने बताएका थिए । उनले नगरको सबै वडामा काम गर्ने क्षेत्रको रुपमा निर्धारण गर्ने बताएका थिए । नगरले मासुजन्य पदार्थमा आत्म निर्भरका लागि हेपर इन्टरनेश्नल भन्ने संस्थासंग सहकार्य गरिएको र अब त्यस योजनालाई पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंग जोडेर काम गर्ने जानकारी दिएका थिए । यस्तै छलफलमा सहभागी हुदै कृषी विकास फर्म शिवसताक्षी ७ चन्द्रडागी झापाका कृषी विज्ञ विनोद मण्डलले परियोजनाबाट तालिम, अनुदान लगायत प्राविधिक क्षेत्रमा सहयोग हुने जानकारी दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई खोटाङका प्रमुख दिपेन्द्र मनोहर, चौदण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, नगरका अगुवा कृषकहरु लगायतको सहभागितामा परियोजनाका बिषयमा छलफल भएको थियो ।