१० भाद्र २०८१, सन्तोष कुमार रौनियार…

नेकपा ( एमाले ) बेलका नगर कमिटीले बिबिध बिषयमा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आईतवार निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापाको नेतृत्वमा निवर्तमान उपप्रमुख राज कुमारी चौधरी, वडा नं. ४ र ५ का निवर्तमान वडाध्यक्षहरु दिपक दंगाल , गोबिन्द खड्का सहित निवर्तमान जनप्रतिनिधिहरु, नेकपा एमाले बेलका नगर अध्यक्ष हिराजंग राई एवं निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतको टोलीले नगर प्रमुख अशोक कार्की, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतसंग भेट गरी १३ बुँदे माग राख्दै नगरको ध्यानाकर्षण गराएको हो ।
३ घण्टासम्म चलेको छलफलमा २०७४ सालदेखी २०७९सालसम्म रहेको पहिलो नगर सरकारले थालेका सरसफाइ, उध्यान, औधोगिक ग्राम, बसपार्क , लेकाली रंगशाला , भुतियादह , चिस्यान केन्द्र, बोका खसी संकलन केन्द्र , अक्सिजन प्लान्ट, चार्जिङ्ग स्टेसन लगायतका नगर गौरबका योजनाहरु अलपत्र परेकोले त्यसको कारण माग गरेको छ । यस्तै नगरपालिकाले यातायातका साधनको मर्मतमा गरेको खर्च तथा गत आर्थिक बर्षमा कुन कुन पदाधिकारी र कर्मचारीले के कति भ्रमण भत्ता र अनुगमन भत्ता लिएको हो त्यसको बर्गिकृत विवरण उपलब्ध गराउन पनि माग गरेको छ । निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापाका अनुसार अतिथि सत्कारमा कति खर्च भएको हो ?, कुनकुन पदाधिकारीले कतिकती इन्धन खर्च गरेका छन्, मा. बि. पुरन्दहको भवन निर्माणमा नगरले गर्नु पर्ने भन्दा दोब्बर रकम छुट्याइएको बारेमा स्पष्ट पार्न पनि आग्रह गरेको छ भने नगर अस्पताल नबन्नुको कारण , ठूलो मात्रामा रहेको बिबिध खर्चको बारेमा पनि कारण माग गरेको छ ।
दुई पक्षविच भएको छलफलमा १५ दिन भित्र नगरले उल्लेखित मागहरुको छुट्टाछुट्टै विवरण तयार गरि तथ्यगत र आधिकारीक रुपमा विवरण तयारी गरेर पुनः संयुक्त बैठकमा पेश गर्ने सहमति भएको पुर्व नगर प्रमुख थापाले जानकारी दिएका छन् । उनले नगर प्रमुख अशोक कार्की र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम घिमिरेबाट सबै विषयमा माग पुरा गर्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिदै मागहरुको उचित सम्बोधन नभएमा नेकपा ( एमाले ) सडक प्रयोग गर्दै जनताको बिचमा जाने बताएका छन् ।
