चौदण्डीगढी नगरपालिकाले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने ।

१६ आसार २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाले शिक्षकहरुले पेशाागत संघ संगठन बाहेक राजनितिक दलमा आबद्धता हुन नपाउने नियमलाई कडाईका साथ पालना गराउने भएको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले शिक्षकहरुले पेशाागत संघ संगठन बाहेक राजनितिक दलमा आबद्धता हुन नपाउने नियमलाई कडाईका साथ पालना गराउने निर्णय गरेको शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । विहिबार आएको माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को रिजल्टमा नगरमा संचालित सामुदायिक बिद्यालयको नतिजा निराशाजनक आएपछि नगर प्रमुख लामाको अध्यक्षतामा बसेको बैठकले बिद्यालयहरुमा कडाई गर्ने निर्णय गरेको हो । बिभिन्न बिद्यालयहरुमा आबश्यक शिक्षकहरुको दरबन्दी पहिलाभन्दा १८ जना थपिएको, बिद्यायल सुधारका लागि आबश्यकता र औचित्यका आधारमा बिद्यार्थी संख्या कम भएका बिद्यालयहरुको तह घटुवा, मर्जर तथा शिक्षकहरुको सरुवा गरिएता पनि रिजल्टमा सुधार नदेखिएपछि नगरले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने भएको हो ।

चौदण्डीगढी नगरपालिकामा एसइई २०८० को रिजल्टमा पाँच विधालयको शुन्य रिजल्ट आएको छ । चौदण्डीगढी नगरपालिकाका १९ सामुदायिक विधालयका विधार्थीहरु एसइईमा सहभागी भएकोमा ५ विधालयको रिजल्ट शुन्य आएको हो । यसरी शुन्य रिजल्ट ल्याउने विधालयहरुमा वडा नम्बर २ माडिबासस्थित सिंहदेवी माध्यमिक विधालय , वडा नम्बर ९ भिमास्थित जनविकास माध्यमिक विधालय, वडा नम्बर ५ सुन्दरपुरस्थित शिव माध्यमिक विधालय र सिवाईस्थित मावि सिवाई , त्यस्तै वडा नम्बर १ चौदण्डीस्थित शारदा माध्यमिक विधालय रहेका छन् । नगरका सामुदायिक विधालय तर्फ १९ माध्यमिक विधालयका ७ सय ८ बिद्यार्थी एसइई २०८० मा सहभागी भएकामा १ सय २६ जना अर्थात १७.७९ प्रतिशत बिद्यार्थी मात्र बिद्यार्थी उत्तीर्ण भएका छन । संस्थागत बिद्यालयतर्फ भने चौदण्डीगढी नगरपालिकाका ७ विधालयका १४४ जना विधार्थी परीक्षामा सामेल भएकामा १११ जना अर्थात ७७.०८ प्रतिशत उत्तीर्ण भएका छन । समग्रमा चौदण्डीगढी नगरपालिकामा संस्थागत र सामुदायिक गरि कुल २७.८१ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ हडियास्थित जनता नमुना माध्यमिक बिधालयका छात्रा मनिषा फुयालले भने जिल्ला टप गर्न सफल भएकी छिन उनले ३.९५ जिपिए प्राप्त गरेकी छिन् । जनता नमुना माविबाट ८४ जना सहभागी भएकोमा ३४ जना उत्तिर्ण भएका छन् । बिद्यालयका छात्रा जिल्ला टपर भएता पनि ५० जना बिद्यार्थी भने फेल भएका छन् । एता नगरकै सबैभन्दा ठुलो बिद्यालयको रुपमा कहलिएको ज्योती मावी बेल्टारको रिजल्ट भने अझ निराशाजनक छ । बिद्यालयबाट ११३ जना बिद्यार्थी सहभागी भएकोमा १९ जना मात्र उत्तिर्ण भएका छन् । त्यो भनेको १६.८१ प्रतिशत मात्र हो । संस्थागत बिद्यालयतर्फ भने पुमा ईङलिस बोडिङ्ग स्कुल बेल्टारको नतिजा उत्कृष्ट रहेको छ । पुमा ईङलिस बोडिङ्ग स्कुलबाट ३५ जना बिद्यार्थी सहभागी भएकोमा ३१ जना उत्तिर्ण भएका छन् । जुन ८८.५७ प्रतिशत हो ।