चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतरुपमा पारित ।

१० आसार २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा बसेको नगरपालिकाको १६ औं नगर सभाले आर्थिक बर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । गाँउको विकास र बजारको ब्यबस्थापनलाई मुख्यविन्दु मानेर नगरले सडक पुर्वाधारको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सामाजिक विभेदको न्युनिकरणलाई प्राथमिकताका राखेको छ । नगर प्रमुख लामाले समग्र नगर क्षेत्रको कृषी, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, पुर्वाधार, खेलकुद, बजार ब्यबस्थापन, फोहरमैला ब्यबस्थापन, बिद्युतीकरण, बिज्ञान तथा प्रबिधि, धर्म, कला, संस्कृती, भाषा साहित्य, वन बाताबरण, सामाजिक क्षेत्र, लक्षित वर्ग र राज्यले संरक्षण गरेको समुहको सर्वाङ्गिण विकास तथा सन्तुलित विकासलाई जोड दिने बताएका छन् ।

सिमित स्रोत साधनको वावजुत नगर क्षेत्रभित्र रहेका अपुरा योजना, कटौती भएका योजनाहरु, जनताको अति नै अपरिहार्य माग र योजनाहरुलाई अगाडी बढाउने प्रयास गरेको तथा नगरको गौरवको रुपमा एक वडा एक कालोपत्रे, या ट्रस व्रिज वा कल्भर्ट मध्ये एक बनाउने, क्षेत्रगत बिकासका लागि सन्तुलन मिलाउन कार्यपालिका विकास कोषको प्रबन्ध गर्ने, आफ्नै नगरमा डाक्टर उत्पादन गर्ने उदेश्यले एक जेहेन्दार बिद्यार्थीलाई एम.वि.वि.एस. पढ्न सहायता अनुदान कार्यक्रम अघि सारिएको बताएका छन् । त्यस्तै जनताका दैनिक सेवा प्रवाहलाई छिटो छरितो सरल र पारदर्शी बनाउन नगरको सबै शाखा तथा निकायहरुलाई चुस्तदूरुस्त पार्दै लाने लक्ष्य नगरले लिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगर प्रमुख कालुमान लामाले प्रस्तुत गरेको नगरको नीतिलाई हलले ताली बजाएर ध्वनीमतले पारित गरेको थियो ।

त्यस्तै चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०८१/८२को बजेट पनि सर्वसम्मतरुपले पारित भएको छ । उप प्रमुख मणिकादेवी दुलालले नगर सभामा आज ७९ करोड, ६३ लाख, ३६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन् । उप प्रमुख दुलालले संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुदान चालुतर्फ ३३ करोड ४८ लाख, संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुदान पूँजीगततर्फ ४ करोड ९२ लाख, प्रदेश सरकारबाट हस्तान्तरित शसर्त अनुदान चालुतर्फ ३४ लाख ५४ हजार, प्रदेश सरकारबाट हस्तान्तरित शसर्त अनुदान पूँजीगततर्फ १ करोड ३८ लाख ३० हजार, त्यस्तै प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान १ करोड ३० लाख, संघीय सरकारबाट हस्तान्तरित समपुरक अनुदान १ करोड, यस्तै संघीय सरकार समानीकरण अनुदान १४ करोड १५ लाख, प्रदेश सरकार समानीकरण अनुदान ८८ लाख ८७ हजार, संघीय सरकार राजश्व बाँडफाँड १४ करोड ४४ लाख, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख ९६ हजार, आन्तरिक आय ९६ लाख ४४ हजार ३ सय २८, स्थानीइ राजश्व बाँडफाँड २ करोड ९० लाख ३८ हजार ४६ रुपैयाँ, त्यस्तै घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँडबाट ६८ लाख र २०८०/८१ को अल्याबाट १ करोड ४५ लाख ८६ हजार ६ सय २६ रुपैयाँ गरी ७९ करोड ६३ लाख ३६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन । बजेटको सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख कालुमान लामाले सबैको भावनालाई समेटेर बजेट आएको र धेरै राम्रो गर्ने चाहना हुदाहुदै पनि बाध्यताले सबै बिषयलाई समेट्न नसकिएको बताउदै बजेटका बिषयमा उठेका कुराहरुलाई सम्बोधन गर्ने बताएपछि नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट पनि पारित भएको छ ।

यसअघि विन्योजित बजेटको बिषयमा छलफलमा भाग लिदै वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतले सबै बिषय र क्षेत्रलाई समेटिएको बताउदै समग्रमा बजेट राम्रो रहेको बताएका थिए । एता वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राईले भने एमालेले जितेको वडामा बढी बजेट बिन्योजन गरिएको जनाउदै वडा नम्बर ४ र वडा नम्बर ९ मा विन्योजन गरिएको बढी बजेटको रकम फिर्ता गरि अरु वडामा बितरण गर्नुपर्ने भन्दै संसोधन गर्न आग्रह गरेका थिए । यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले विभिन्न शिर्षकहरुमा लिखित खर्च कटौतीको प्रस्ताव पेश गर्दै बिबिध र अन्य नामक शिर्षकमा रकमहरु बिन्योजन रहेकोले त्यसमा पार्दर्शिता कायम गर्नुपर्ने , ईन्धन खर्चमा बढी रकम विन्योजन गरिएको, भत्ताको विभिन्न शिर्षकमा रकमहरु अपारदर्शी ढंगले राखिएकोले संसोधन हुनपर्ने बताएका थिए । यस्तै वडा न्मवर २ का वडा अध्यक्ष हरी बहादुर खड्काले नगरले सौतेनी व्यबहार गरेको बताउदै वडाको घेराबेराको लागि रकम नभएको, अधुरा कामहरुमा नगरले पैसा नहालेको बताएका थिए भने वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईले सबै वडाको वडा भवन निर्माण भैसकेको तर वडा नम्बर १ को भवन निर्माण नभएकोले वडा भवन निर्माणका लागि बजेटको ब्यबस्था गर्न माग गरेका थिए ।

यस्तै वडा नम्बर ५ अध्यक्ष तुलसीराम ढकालले वडामा खानेपानीको समस्या रहेकोले शुद्ध खानेपानीको ब्यबस्थामाका लागि बजेट बिन्योजन नगरेकोले आर्सेनिक मिसिएको दुसित पानी पिउनुपर्ने बाध्यता रहेको, पर्यापर्यटनमा ध्यान नदिएको भन्दै असन्तुष्टी ब्यक्त गरेका थिए । वडा नम्बर ६ का वडा अम्बर बहादुर खड्काले कृषीमा सिचाईका लागि यस अघिको योजनाहरु पनि अहिलेको बजेटमा नरहेको , केचुवामा रहेको वालबिकास केन्द्र सन्चालनका लागि सहयोग गर्नुपर्ने माग गरेका थिए। समग्रमा बजेट राम्रो रहेको उनको भनाई थियो । वडा ४ नम्बर वडा अध्यक्ष लुंगराज राईले भने वडाको हितको लागि वडा अध्यक्षहरुले नै आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउदै आफ्नो वडामा संघ र प्रदेशबाट योजना ल्याउनका लागि पहल पनि गर्नु पर्ने धारणा राखेका थिए भने वडा नम्बर ८ वडा अध्यक्ष भगनाथ मगरले धप¥र खोला पुलमा बजेट नपरेकोमा असन्तुष्टी ब्यक्त गरेका थिए । एता–कार्यपालिका सदस्य तिलावती राईले महिला सम्बन्धि कार्यक्रमका लागि बजेट बिन्योजन नभएकोमा असन्तुष्टी ब्यक्त गरेकी थिईन् । प्रत्येक वडामा महिला सम्बन्धि कार्यक्रम संचालनका लागि बजेट ब्यबस्थापन हुनपर्ने उनको माग थियो । महिला सम्बन्धी कार्यक्रमलाई जनतासंग उपमेयर कार्यक्रम र सामाजिक शाखाको कार्यक्रमको माध्यमबाट सम्बोधन गर्ने उप प्रमुख मणिकादेवी दुलालले आश्वासन दिएकी थिईन् ।

सभामा चौदण्डीगढी नगरपालिकाले बिभिन्न शाखामा कार्यरत उत्कृट काम गर्ने कर्मचारीलाई नगद १० हजार रुपैयाँसहित सम्मान समेत गरेको थियो भने चौदण्डीगढी नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा ब्यबस्थापनसम्बन्धी ऐन, २०८१, मेयर प्राबिधिक अध्ययन छात्रबृती कार्यक्रम सम्बन्धी ऐन २०८१, आर्थिक सहायता वितरण तथा ब्यबस्थापन ऐन २०८१ र चौदण्डीगढी नगरपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण कार्यविधि नियामवली लगायतका ऐनहरु पनि सर्वसम्मतरुपमा पारित गरेको छ ।