चौदण्डीगढीमा हुने पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

२६ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

आगामी फागुन १ गतेबाट चौदण्डीगढी नगरपालिकामा सुरु हुने पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज चौदण्डीगढी नगरपालिका नगर युवा तथा खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै पाँचौ संस्करणको मेयर कप फुटबल बारे जानकारी दिएको हो।

चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताका लागि वडा अध्यक्षहरु, समितिका पदाधिकारीहरु तथा वडा खेलकुदका अध्यक्ष र पदाधिकारीहरुको उपस्थितीमा खेलकुद विकास समितिको कार्यालय बेल्टारमा गोलाप्रथाबाट समुह चयन गरिएको नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।  गोलाप्रथाबाट समुह ए र समुह बी गरी दुई समुहमा नगरका दश वटै वडाका टिमलाई बिभाजन गरिएको छ । समुह ए मा वडा नम्बर ९, ३ , ८ र १० तथा समुह वी मा वडा नम्बर ५,६,७,२ र ४ को टिम रहेको छ । आज सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेल वडा नम्बर ९ र वडा नम्बर ३ को टिमबिच वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रङ्गशालामा दिउँसो १ बजेदेखी हुनेछ । प्रतियोगिता अन्तर्गतका सबै खेलहरु नारदमुनि रङ्गशालामा हुने आयोजकले जानकारी दिएको छ ।

पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगिताको प्रत्येक खेलमा हुने म्यान अफ दि म्याचले नगद एक हजार रुपैयाँ र मेडल प्राप्त गर्ने बताइएको छ । हरेक बर्ष नगरले वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ भने हरेक बर्ष फरक फरक वडामा प्रतियोगिता गर्ने गरेको छ ।