१६ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

आगामी पुष २३ गतेदेखी २५ गतेसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा ३ दिने आँखा शिविर संचालन हुने भएको छ । चौदण्डीगढी नगरपालिका र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजना तथा भिजन हिमालय फाउण्डेशनको सहयोगमा आँखा शिविर संचालन हुने भएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गाराज राईका अनुसार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकी बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर रिता गुरुङ्ग नेतृत्वको टोलीले आँखाको मोतियाविन्दु भएका बिरामीहरुको निःशुल्क अपरेशन गर्ने जनाएका छन् ।
आगामी पुष १७ गते मंगलवारदेखी नगरका बिभिन्न स्वास्थ्य चौकीहरुमा मोतियाबिन्दु छनौट शिविर संचालन हुने र पुष २३ गतेदेखी २५ गतेसम्म ३ दिन बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा आँखाका विरामीहरुको निःशुल्क मोतियाविन्दुको अपरेशन गरिने वडा अध्यक्ष राईले जनाएका छन् । राईका अनुसार पुष १७ गते मंगलवार वडा नम्बर १ को स्वास्थ्य चौकी भवन चौदण्डी र वडा नम्बर ८ को स्वास्थ्य चौकी भवन सिद्धिपुरमा मोतिबिन्दु छनौट शिविर संचालन हुनेछ । त्यस्तै पुष १८ गते बुधवार वडा नम्बर ४ को स्वास्थ्य चौकी भवन बसाहा, बर्खेडाँडा र वडा नम्बर ३ को स्वास्थ्य चौकी भवन आमसालमा छनौट शिविर संचालन हुनेछ । यस्तै पुष १९ गते विहिबार वडा नम्बर ५ को स्वास्थ्य चौकी भवन सुन्दरपुर र वेलका नगरपालिकाको वडा नम्बर ७ मैनामैनीमा शिविर संचालन हुने छ । पुष २० गते शुक्रबार चौदण्डीगढी नगरपालिका वडा नम्बर २ को स्वास्थ्य चौकी भवन माडिबासमा र वेलका नगरपालिका वडा नम्बर ५ को आधारभुत स्वास्थ्य चौकी भवन खयरवनीमा शिविर संचालन हुने छ । यस्तै पुष २१ गते शनिवार चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ को स्वास्थ्य चौकी भवन हडियामा र वडा नम्बर ६ को स्वास्थ्य चौकी भवन सिर्वानीमा शिविर संचालन हुने छ । त्यस्तै पुष २२ र २३ गते आईतवारदेखी बेल्टार सातधारेस्थित कोभिड अस्पताल भवनमा मोतिबिन्दु छनौट शिविर संचालन हुने बताइएको छ । आफुलाई पायक पर्ने स्थानमा मोतियाविन्दुको जाँच गराउन ४० बर्षभन्दा माथीका आँखाका विरामीहरुलाई आयोजकले आग्रह गरेको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आखाँ प्रतिष्ठान, गौशाला काठमाडौ र चौदण्डीगढी नगरपालिकावीच मोतियाविन्दु र आँखाको अन्धोपन गराउन सक्ने आँखाका रोग भएका ३ सय जना बिरामीहरुको निःशुल्क रुपमा अपरेशनसहितको शल्यक्रिया गर्ने समझदारी भएको छ । अघिल्लो बर्ष पनि चौदण्डीगढी नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा शिविर संचालन गरेको थियो ।

