१२ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगरका क्रियाशिल दलका अगुवा नेताहरुले हिजो नगर प्रमुख कालुमान लामालाई एक ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल, एमाले उदयपुर जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र कटुवाल, किशोर ताम्राकार, पार्वती राई, नेकपा एसकी कोशी प्रदेश सदस्य चुना थापा, रास्वपाका नेता पवन कार्की, प्रिया राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायतका नेता तथा सामाजिक अगुवाहरुले नगर अस्पताल बेल्टारको सेवा सुविधाको बिषयमा ब्यापक जनगुनासो आएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
पुष ९ गते वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा बेल्टार बजारस्थित वडा कार्यालयमा बसेको बैठकले अस्पतालमा अति आबश्यक औषधी नरहेको, ल्यावका लागि आबश्यक केमिकल नभएको, भिडियो एक्स–रे मेशीन राम्रोसंग संचालन हुन नसक्ने अबस्थामा रहेको तथा त्यस बैठकमा उपस्थित अस्पताल प्रमुख डा. अमित कर्ण, नगर अस्पतालका प्रशासन शाखाका फिरन चौधरी , नगर स्वास्थ्य शाखाका उपप्रमुख लक्ष्मी चौधरी लगायतले अस्पतालमा समस्या रहेको रिपोटिङ्ग गरेपछि बैठकले नगर प्रमुख लामाको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो । सोही अनुरुप हिजो उनीहरुले नगर प्रमुख लामालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार वडा अध्यक्षको अध्यक्षतामा गठन भएकोे प्राथमिक स्वास्थ्य केन्द्रको ब्यबस्थापन समितिलाई भंग गरेर नगर प्रमुख नै अध्यक्ष हुने ब्यबस्था गरिएपछि सृजना भएको विवाद र त्यस पछाडी समन्वय नहुनु नै समस्याको मुख्य कारण रहेको जनाउदै स्वास्थ्य जस्तो बिषयसंग जोडिएको अति संबेदनशिल क्षेत्रलाई जुंगाको लडाई नबनाई गम्भिर भएर समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरिएको छ ।
एमालेका नेता शम्भु पौडेलले ज्ञापन पत्र पढेर नगर प्रमुख लामालाई बुझाई सकेपछि यस बिषयमा थप छलफलका गर्न खोज्दा नगर प्रमुख लामाले समय नलिई आएको भन्दै रोकेका थिए । उनले आफ्नो ध्यानाकर्षण भएको जनाउदै समस्या समाधानका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताएका थिए । एता स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा नगर प्रमुखसंग छलफल गर्न खोज्दा समय लिएर नआएको भन्दै कुरा सुन्न नचाहेको देख्दा अपमानित महशुस भएको बेल्टार बसहा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् । त्यसअघि पुर्व मेयर खगेन्द्र राईले नगर अस्पतालको सेवा सुबिधाको बारेमा जनगुनासो आइरहेकोले आफ्नो पार्टीको तर्फबाट पनि नगर प्रमुखको ध्यानाकर्षण गराउन चाहेको बताएका थिए ।
