१२ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ त्रियुगा नदीस्थित ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुलको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्ने कार्य आजबाट शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको झुलुङ्गे पुल हेर्ने ईटहरी शाखाबाट ईन्जिनियर लाल झाको नेतृत्वमा आएको प्राबिधिक टोलीले झुलुङ्गे पुल निमार्ण स्थलको स्थलगत अबलोकन गरेका छन् । हालकै ज्यामिरेस्थित वडा कार्यालय हुदै ज्यामिरेघाट र हडिया जोड्ने बाटोमा पुल निमार्ण हुने भएको छ । पुल निमार्ण स्थल छनौट गर्न नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा नम्बर १० का वडा अध्यक्ष धमेन्द्र खड्का, नेपाली कांग्रेसका नेता अर्जुन दाहाल लगायतले सहजीकरण गरेका थिए ।
संघीय सरकारले ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुल निमार्णका लागि त्रिबर्षीय योजना अन्तर्गत ५ करोड ९१ लाख ५० हजार रुपैयाँ रकम सुनिश्चित गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा ८५ लाख, आर्थिक बर्ष २०८२/८३ मा २ करोड ५३ लाख ५० हजार र आर्थिक बर्ष २०८३/८४ मा २ करोड ५३ लाख रुपैयाँ सुनिश्चित भएको नगर प्रमुख लामाले जानकारी दिएका छन् । उनले झुलुङ्गे पुल निमार्ण हुने भएसंगै आफुले गत स्थानीय चुनावको बेला गरेको प्रतिबद्धता पुरा हुने पनि बताएका छन् । नगर प्रमुख लामाले नगरपालिकाले सबै वडाहरुलाई नगरको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारसंग जोड्ने रणनीति अनुसार बिभिन्न खोलानालामा ट्रस्टब्रिज निमार्ण तथा झुलुङ्गे पुल निमार्ण कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनले आज मात्रै वडा नम्बर ३ स्थित सुन्दरबस्ती कुसुमचौरी जोड्ने झुलुङ्गे पुलको शिलान्यास गरेको जानकारी दिदै नगरकै माडिबास जोड्ने माडिबास खोला, शिवनगर ईक्रहा जोड्ने त्रियुगा नदी पनि झुलुङ्गे पुलको लागि रकम सुनिश्चित भैसकेको बताएका छन् । यही माघ महिना भित्रै यी ठाँउहरुमा पनि डिपिआरको काम शुरु भएर ठेक्का लाग्ने बताएका छन् । साथै आगामी बर्ष वडा नम्बर ५ को सुन्दरपुर र ढेलाचौरी जोड्न त्रियुगा नदीमा झुलुङ्गे पुल निमार्ण कार्य शुरु गरिने पनि बताएका छन् ।
यस्तै झुलुङ्गे पुल हेर्ने ईटहरी शाखाका ईन्जिनियर लाल झाले केही दिनभित्रै डिपिआरको काम सम्पन्न हुने र माघ महिनाभित्रै टेन्डर आबहान गरिने जानकारी दिएका छन् ।

