१४ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले वडा नम्बर ३ बसहा अजिंगरेस्थित कालिखोलामा निमार्ण हुने कलभर्टको शिलान्यास गरेका छन् । आज शुक्रवार निमार्ण कम्पनी सामाताङ्गे निमार्ण सेवाले एक कार्यक्रमको आयोजना गरेर कलभर्टको शिलान्यास गराएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरले वडाको विकास निमार्णको कामलाई प्राथमिकतामा राखेको दावी गरेका थिए । उनले सडक, खानेपानी, सिचाईं लगायतको क्षेत्रमा नगरको सधै साथ र सहयोग रहने बताएका थिए । उनले वडामा विपक्षी दलको वडा अध्यक्ष भएता पनि नगरले कुनै पनि प्रकारको भेदभाव नगरेको बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राईले ठेकेदार कम्पनीले झण्डै ५० प्रतिशत कममा ठेक्का लिएकोले निमार्ण कार्यमा कैफियत हुन सक्ने आशंका गर्दै गुणस्तरीय कामका लागि ठेकेदारलाई आग्रह गरेका थिए ।
वडा नम्बर ७ बेल्टार बजारस्थित निमार्ण कम्पनी सामाताङ्गे निमार्ण सेवाले २३ लाख रुपैयाँमा ठेक्का खुलेकोमा भ्याटसहित १२ लाख ७८ हजार रुपैयाँमा कालीखोला र देवी खोलामा कलभर्ट निमार्ण गर्नेगरी ठेक्का सकारेको छ । कालीखोलामा निमार्ण हुने कल्भर्ट ६ मिटर लम्बाई र ६ मिटर चौडाईको रहेको छ भने कल्भर्टको मोटाई एक फिट रहेको ठेकेदार राजकुमार खड्काले जानकारी दिएका छन् । देवी खोलामा निमार्ण हुने कल्भर्ट भने केही सानो रहेको छ । यी दुवै खोलामा कल्भर्ट निमार्ण भएपछि यस भेगका बासिन्दालाई मदन भण्डारी राजमार्गसम्म आउजाउ गर्न सहज हुनेछ । यस्तै गाँउघरमा उत्पादन भएको कृषी उपज बजारसम्म ल्याएर बेचबिखन गर्न सजिलो स्थानीयले बताएका छन् ।
