१८ चैत्र २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी जोड्ने बाटो कालोपत्रे हुने भएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज नारद आदर्श चौक बर्खेडाँडामा आयोजित एक कार्यक्रममा योजनाको शिलान्यास गरेका छन् । बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी रोड स्तरोन्नती अन्तर्गत बाटो कालोपत्रे हुन लागेको हो । बाटो कालेपत्रे गर्ने कार्यको जिम्मेबारी वडा नम्बर ४ कै चौदण्डीगढी निमार्ण कम्पनी प्रा.ली ले पाएको छ । भ्याटसहित १ करोड १६ लाखमा खुलेको टेण्डर निमार्ण कम्पनीले ४२.५ प्रतिशत कमका ६७ लाख २ हजार २ सय २२ रुपैयाँ १० पैसामा सकारेको थियो । चैत्र १५ गते ठेक्का सम्झौता भएको योजनाको निमार्ण सम्पन्न गरिसक्नुपर्ने मिति २०८१ साल आसाढ १५ गतेसम्म रहेको छ । बाटोको चौडाई ४ मिटर, लम्बाई १८ सय ३५ मिटर रहेको छ भने पिचको मोटाई ३ सेन्टीमिटर, सव बेसको मोटाई १५ सेन्टीमिटर र बेसको मोटाई १० सेन्टीमिटर हुने नगरपालिकाको प्राबिधिकले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर र प्रदेश सरकारको समपुरक बजेटबाट बाटोको मर्मत गर्ने कार्य अगाडी बढेको बताउदै ठेकेदारले कतिमा ठेक्का लियो भन्दापनि ठेक्का खुलेको रकम १ करोड १६ लाख रुपैयाँ अनुसार कै काम गर्नुपर्ने बताएका छन् । मेयर लामाले चिनजान वा अन्य कुनै कारणले कामको गुणस्तरमा कमी हुन नदिन निर्देशन दिदै निर्धारित समयमा मापदण्ड अनुरुपको कार्य गर्न आग्रह गरेका थिए । मेयर लामाले यस सडकलाई गंगटेसम्म जोड्ने नगरको योजना रहेको जानकारी दिदै क्रमागतरुपमा नगरले यसमा लगानी गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडाका टोल विकास समितिका पदाधिकारी, बिभिन्न राजनीतिक दलका प्रतिनीधि लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीयबासीले सो बाटोको चौडाई बढाएर ६ मिटर बनाउनका लागि मेयर लामासंग अनुरोध समेत गरेका थिए ।
