२५ पुष २०८१, सन्तोष कुमार रौनियार…

माघ १ गतेदेखी चौदण्डीगढी नगरपालिकाको बसहामा १३ बर्षमुनीको बिद्यार्थीहरु सम्मिलित दोस्रो संस्करणको अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन हुने भएको छ । दि गुर्खाज फुटबल एकेडेमीको आयोजना र चौदण्डीगढी नगरपालिकाको बिशेष सहयोगमा माघ १ गतेदेखी ७ गतेसम्म प्रतियोगिता संचालन हुने एकेडेमीका सल्लाहकार शेखर राईले जानकारी दिएका छन् । आज वडा नम्बर ४ बर्खेडाडास्थित लालीगुराँस महिला भवनमा आयोजित पत्रकार सम्मेलनमा सल्लाहकार राईले आवासीय सुबिधासहितको फुटवल एकेडेमी संचालन गर्ने उदेश्यले प्रतियोगिताबाट खेलाडी छनौट गरिने जानकारी दिदै तीन बर्षसम्म छनौट भएका खेलाडीहरुलाई कलोज क्याम्पमा राख्ने र त्यसपछि ब्यबसायिक खेलका लागि नेपालका राष्ट्रियस्तरका क्लबहरुमा आबद्ध गराउने बताएका छन् । फुटवलमा चौदण्डीगढी नगरपालिकाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने एकेडेमीको उदेश्य रहेको राईले बताएका छन् ।
यस्तै एकेडेमीका अध्यक्ष केवल तामाङ्गले प्रतियोगितामा नगरभरीमा १५ वटाभन्दा बढी बिद्यालयहरु सहभागी हुने जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै बिद्यागततर्फ वेस्ट गोलकिपर, वेस्ट डिफ्न्स, वेस्ट मिडफिल्डर, वेस्ट फर्वाड, वेस्ट स्कोरर्लाई जनही २५ सय रुपैयाँ, उत्कृष्ट खेलाडीलाई नगद ३५ सय रुपैयाँ पुरुस्कार प्रदान गरिने पनि अध्यक्ष तामाङ्गले जानकारी दिएका छन् । यस्तै प्रत्येक खेलको म्यान अफ् दि म्याच घोषित खेलाडीलाई पनि नगद पुरुस्कार रहेको उनले बताएका छन् । प्रतियोगिताका सबै खेलहरु वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा हुने जनाइएको छ ।
