राजनीतिक भागवण्डामा नेतृत्व चयन गर्दै चौदण्डीगढीमा रेडक्रसको नगर उपशाखा अधिबेशन सम्पन्न ।

२५ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

राजनीतिक भागवण्डामा नेतृत्व चयन गर्दै उदयपुरको चौदण्डीगढीमा नेपाल रेडक्रस सोसाईटीको नगर उपशाखा अधिबेशन सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित सिटी हलमा आज सम्पन्न नगर उपशाखा क र ख को संयुक्त अधिबेशनले सोसाईटीको मुल मन्त्र निष्पछ्यता र तटस्थतालाई कुण्ठित गर्दै राजनीतिक भागवण्डा गरेर नेतृत्व चयन गरेको हो । रेडक्रस उदयपुरका जिल्ला अध्यक्ष मदनराज कटुवालको उपस्थितीमा एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले नेतृत्वमा भागवण्डा गरेका छन् । नगरको १० वटा वडाहरुलाई दुई उपशाखामा बिभाजित गरिएको छ । वडा नम्बर ६ देखी वडा नम्बर १० लाई नगर उपशाखा क मा र वडा नम्बर १ देखी वडा नम्बर ५ लाई नगर उपशाखा ख मा विभाजित गरिएकोमा दलहरुले पदहरुमा भागवण्डा गरेका छन् । नगर उपशाखा क एमालेको भागमा परेको छ भने उपशाखा ख माओवादीले पाएको छ । राजनीतिकरुपमै सहमति गरेर उनीहरुले भागवण्डा गरेका हुन् । वडा नम्बर ६ देखी वडा नम्बर १० सम्म कार्यक्षेत्र रहेको नगर उपशाखा क को सभापतिमा एमालेकी कमला खड्का, उप सभापतिमा नेपाली कांग्रेसकी राधा बन्जरा, सचिवमा नेपाली कांग्रेसका हिरण कुमार बस्नेत, कोषाध्यक्षमा माओवादी केन्द्रकी रञ्जना पराजुली, उप सचिवमा माओवादी केन्द्रका सविन कुमार रैका मगर, उप कोषाध्यक्षमा एमालेका अनुपराज खत्री, त्यस्तै सदस्यहरुमा नेपाली कांग्रेसबाट गोमा सेढाई र प्रमोदजंग राई, एमालेबाट भिम परियार र अन्जनी कुमार अधिकारी तथा माओवादी केन्द्रबाट सरिता परियार चयन भएका छन् । एता वडा नम्बर १ देखी वडा नम्बर ५ सम्म कार्यक्षेत्र रहेको नगर उपशाखा ख मा सभापतिमा माओवादीका ईशान राई, उपसभापतिमा नेपाली कांग्रेसकी रत्नमाया दाहाल, सचिवमा नेपाली कांग्रेसका विनय तामाङ्ग, कोषाध्यक्षमा एमालेका देवक राई, उप सचिवमा एमालेका श्याम कुमार कार्की र उप कोषाध्यक्षमा जसपाकी अन्जना राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कांग्रेसबाट मञ्जु मगर, मौसम राई साम्पाङ्ग र कमला कुमारी खड्का, रास्वपाबाट धन बहादुर कार्की र राप्रपाबाट दिलिप थापा चयन भएको बताइएको छ । मानवता, निष्पछ्यता, तटस्थता, स्वाधिनता, स्वयम् सेवा , एकता र विश्वव्यापकता रेडक्रसको मुल मन्त्र भएपनि रेडक्रस उदयपुरको नेतृत्व भने राजनीतिक पार्टीलाई रिझाएर आफ्नो दुनो सोझयाउनेमा केन्द्रीत भएको देखिन्छ । अधिबेशन अघि नै बिभिन्न दलका नेताहरुसंग गोप्य समझदारी गरेर पार्टीका कार्यकताहरुलाई नेतृत्वमा ल्याइएको छ । हुन त जिल्लाले यसअघि नगर तदर्थ समिति गठन गर्दा पनि राजनीतिक भागवण्डा गरेर समिति गठन गरेको थियो । नगरमा जुन पार्टीले मेयर जितेको छ , त्यही पार्टीकोलाई नगर तदर्थ समितिको सभापति बनाउने र अन्य दलकाहरुलाई बाँकी पदमा भागवण्डा गर्ने सहमति अनुसार चौदण्डीगढीमा एमालेकी कमला खड्का सभापतिमा चयन भएकी थिईन् । रेडक्रसको विकास क्रमलाई हेर्दा नियमले बाँधेर भन्दा पनि रेडक्रसका सिद्धान्त र आदर्शले सेवाभाव जागृत गरेर स्वयंसेवी संस्थाको पहिचान बनाउन सक्षम भएको देखिन्छ । तर उदयपुरमा रेडक्रसको नेतृत्वले जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने जनमानसको भरोसालाई कायम गर्नेभन्दा पनि संस्थालाई राजनीतिक दलका अखडा बनाउन तल्लिन भै रहेको देखिन्छ । हुन् त रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालले संस्थाको नगरसम्मको विस्तारमा राजनीतिक दलका कार्यकताहरु लागेकोले उनीहरु नै नेतृत्वमा आएको बताएका छन् । आफुले केही सिमित ब्यक्तिको चंगुलमा रहेको संस्थालाई सबैको पहुँचमा पुर्याएको उनको दावी छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आथित्यतामा भएको अधिबेशनमा नगर प्रमुख लामासंगै माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीका अध्यक्ष दिनेश राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, एमाले नगर सचिव मिना कुमारी राई, त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राई, चौदण्डीगढी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, नेपाली कांग्रेसका नेता शुशिल सेढाईं, एमाले नेतृ कान्ता राई, नगर उप प्रमुख मणिकादेवी दुलाल लगायतले शुभकामना दिएका थिए ।