जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।

२० असोज, सन्तोष कुमार रौनियार, बेल्टार,उदयपुर

नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्व चौदण्डीगढी नगरपालिकाको थारु बहुल क्षेत्रमा नाचगान गर्दै हर्षोल्लासका साथ मनाइएको छ । जितिया पर्वको अवसरमा चौदण्डीगढी नगरपालिकाको बसहा, सुन्दरपुर, हडिया लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको हो । आज वडा नम्बर ५ को सुन्दरपुरमा भएको वडा स्तरीय जितिया महोत्सव कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री एवंम् उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, वडा अध्यक्ष तुलसीराम ढकाल, पुर्व वडा अध्यक्ष देव नारायण चौधरी लगायत सयौं स्थानीयबासीको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले आफ्नो कला संस्कृति, ऐतिहासिक र सांस्कृतिक परम्परालाई जोगाई राख्नका लागि थारु समुदायले गरेको कार्यको प्रसंशा गरेका थिए । उनले जितिया पर्वमा राष्ट्रिय विदा दिनुपर्ने पनि बताएका थिए । यस्तै सांसद खड्काले आफ्नो प्रयासले अबौंको बजेटमा त्रियुगा नदी नियन्त्रणका लागि बाध निमार्णको कार्य भैरहेको बताएका थिए । उनले यहाँको जनताभन्दा पनि त्रियुगा नदीमा निमार्ण गरिएको पुलको बिषयमा चिन्ता रहेको बताउदै पुल निमार्णका लागि निरन्तर लागिरहेको बताएका थिए । त्यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढकालले वडामा कुनै योजनामा एक पटक बजेट आउने र त्यसपछि बन्द हुने गरेको बताउदै गाईघाट–सिवाई–फत्तेपुर सडक कहिलेसम्ममा बन्ने भन्दै प्रश्न गरेका थिए । वडा अध्यक्ष ढकालले वडाको सिवाई र बेल्हा जोड्ने भत्किएको त्रियुगा नदीको पुलको बिषयमा आफुले केही नबोल्ने बताउदै डा. खड्काले नै त्यस बिषयमा प्रष्ट पार्ने बताएका थिए ।

कार्यक्रम ५ नम्बर वडा स्तरीय जितिया महोत्सव समितिकी अध्यक्ष नागिन कुमारी चौधरीको अध्यक्ष्तामा भएको थियो ।