१८ असोज, सन्तोष कुमार रौनियार, बेल्टार–उदयपुर
चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको मुख्य बजार र आसपासका क्षेत्रहरुमा फोहरमैला बढी रहेको र फोहर जथाभावी अब्यबस्थितरुपमा फालिएको देखिएकोले नगरपालिकाबाट फोहर ब्यबस्थापनमा समस्या भईरहेको जनाएको छ । आज नगरपालिकाले एक सुचना जारी गर्दै ब्यबस्थित तरिकाले राखेको फोहर मात्र संकलन हुने र अब्यबस्थित रुपमा राखिएको फोहर ब्यबस्थापन गर्न नसकिने जनाएको छ । नगरले आफ्नो टोल, बस्तीको फोहरहरु बर्गीकरण गरेर प्लास्टिकजन्य, सिसाजन्य र अन्य प्रकृतीका फोहरहरु छुट्टयाएरु राख्न, सड्ने खालका फोहरहरु प्रांगारिक मलको रुपमा प्रयोग गर्न तथा पुनः प्रयोग नहुने प्लास्टिकजन्य, सिसाजन्य र अन्य प्रकृतीका फोहर अलग अलग रुपमा राख्न आग्रह गरेको छ । नगरपालिकाबाट फोहर ब्यबस्थापनका लागि जाने टिपर र ट्याक्टरहरुले ब्यबस्थित तरिकाले राखेको फोहर मात्र संकलन गर्ने र अब्यबस्थित रुपमा राखिएको फोहर ब्यबस्थापन गर्न नसकिने जनाएको छ ।
प्रशासन शाखा प्रमुख जनक लेखीले आज वडा नम्बर ४, ६ र ७ को कार्यालयलाई एक पत्र पठाउदै टोल बिकास समिति मार्फत सम्बन्धित क्षेत्रका टोल र बस्तीसम्म सुचना पुर्याईदिन आग्रह गरेका छन् । नगरमा बेल्टार बजार, शनिवारे बजार, हडिया बजार, विरेन्द्र बजार लगायतकाबजारक्षेत्रबाट फोहर निस्कास्न हुने गरेको छ । तर नगरमा फोहरमैला ब्यबस्थापनको लागि उचित डम्पिङ्ग साईटको उपलब्धता छैन भने नगरले बेल्टार बजारस्थित बस्ती नजिक आँप खहरे सामुदायिक वन क्षेत्रको जंगलमा फोहर फाल्ने गरेको छ । सो क्षेत्रमा फोहर फाल्न दिनुहुदैन भन्दै त्यसक्षेत्रका बासिन्दाहरुले संघर्ष समिति नै गठन गरेर त्यसको निरन्तर बिरोध गर्दै आएका छन् । गत मंगलबार मात्र नगर प्रमुख कालुमान लामाको आवहानमा नगरपालिकामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले नगर प्रवक्ता प्रकाश राउतको संयोजकत्वमा एक समितीको गठन गरेको छ । समितीले नगरबाट निस्किने फोहरमैलाको ब्यबस्थापनकालागि अल्पकालिन र दिर्घकालिन उपायको खोजी तथा स्थानको पहिचान गर्ने कार्यदेश पाएको छ ।
