उदयपुर क्षेत्र नम्बर १ क मा कुशलबाबु बस्नेतलाई अगाडी सार्ने एमाले असन्तुष्ट पक्षको निर्णय ।

नेकपा एमालेले उदयपुर क्षेत्र नम्बर १ क मा निबर्तमान प्रदेश सभा सदस्य विमल कार्कीलाई टिकट दिने निर्णय गरेसंगै नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टी चुलिएर गएको छ । अन्तर पार्टी निर्देशिका बमोजिम गत भदौ १८ गते बसेको एमाले उदयपुर प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले उदयपुर प्रदेश सभा १ क का लागि प्रदेश कमिटी सदस्यहरु शम्भु पौडेल, धनपति आचार्य, भिम पौडेल त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्यहरु कुशलबाबु बस्नेत, राजेन्द्र कुमार कटुवाल, नारद निरौला र ईश्वरा गेलालको नाम सिफारिस गरेको थियो भने सिफारिस गरिएको भन्दा बाहिरका ब्यक्तिहरुलाई उम्मेदवार बनाएमा सिंगो कमिटीले अस्वीकार गर्ने निर्णय बैठकले गरेको थियो । तर संघका लागि सिफारिस गरिएका कार्कीलाई केन्द्रले प्रदेशका लागि टिकट दिएपछि नेता तथा कार्यकताहरुमा असन्तुष्टिी बढेको हो ।
आज बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा प्रदेश, जिल्ला र चौदण्डीगढी नगर कमिटीमा उपलब्ध नेताहरुसहित टिकटका आकांक्षी नेताहरुहरुको बैठकले गत भदौ १८ गतेको बैठकको स्मरण गर्दै बिमल कार्कीलाई अस्वीकार गर्ने जनाएको छ भने बैठकले सिफारिस गरेको जिल्ला कमिटी सचिवालय सदस्य कुशलबाबु बस्नेतलाई उदयपुर निर्वाचन क्षेत्र १ क मा अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । साथै सिफारिस गरिएको बैठकमा उपस्थित भई निर्णय गरेका प्रदेश कमिटी सदस्य विमल कार्कीको नाममा निर्णय भएको भए यसै निर्णय बमोजिम अबिलम्ब फिर्ता लिनको लागि माथिल्लो कमिटी समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
जिल्लाबाट प्रतिनीधि सभा उदयपुर क्षेत्र नम्बर १ का लागि नाम सिफारिस भएका केन्द्रीय सदस्य मञ्जु चौधरीले आफुसंगै प्रतिनीधि सभाका लागि नाम सिफारिस भएका कार्कीलाई आफ्नो सहजताका लागि प्रदेश सभा १ क मा फेरी उम्मेदवार बनाएको भनेर केन्द्रको निर्णयप्रति यहाँका एमाले नेता तथा कार्यकर्ताहरुले बिरोध जनाएका हुन् ।