दि गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ गडन्तास्थित श्री माध्यमिक बिद्यालयमा ३ कोठे पक्की भवन निमार्ण हुने भएको छ । कुल २८ लाख २ हजार २ सय ३८ रुपैयाँको लागतमा निमार्ण हुने भवनको आज विहिवार नगर प्रमुख कालुमान लामाले शिलान्यास गरेका छन् । विद्यालय परिसरमा निमार्ण हुने भवनको नगर प्रमुख लामाले शिलान्यास गरेका हुन् । ट्रष्टको २४ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग र जनश्रमदान ३ लाख २७ हजार ३ सय ३८ रुपैयाँगरी कुल २८ लाख २ हजार २ सय ३८ रुपैयाँको लागतमा ईटाको गाह्रो र जस्ताको छानो भएको ३ कोठे पक्की भवन निमार्ण गरिने विद्यालयका प्रधानाध्यापक बाबुराम तामाङ्गले जानकारी दिएका छन् ।
भवन शिलान्यास तथा पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शिक्षा क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको बताउदै नगरपालिकाले शिक्षक दरवन्दी तथा बिद्यालयको भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । यस्तै नगर प्रमुख लामाले दि गोर्खा वेलफेयर ट्रष्टबाट बिद्यालयमा भवन निमार्णका लागि सहजीकरण गरेका व्रिटिस सेनाका पुर्व क्याप्टेन सुवासचन्द्र राई, समाजसेवी वम बहादुर राई लगायतको प्रशंसा समेत गरेका थिए ।

कक्षा १ देखी ८ कक्षासम्म पढाई हुने यस बिद्यालयमा १५० जना बिद्यार्थी अध्यननरत रहेको प्रधानाध्यापक तामाङ्गले जानकारी दिएका छन् । भवन निमार्णले बिद्यालयहरुको अध्ययन अध्यापनमा थप सहजता ल्याउने प्रअ तामाङ्गको भनाई छ ।
