तेस्रो चौदण्डीगढी जिल्ला स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारस्थित समाबेशी कवर्ड हलमा आज आईतवार प्रतियोगिता अन्तर्गत भएका फाईनल खेलहरु सम्पन्न भएसंगै प्रतियोगिता सम्पन्न भएको हो । गत कार्तिक २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत कार्तिक २१ र २२ गते दुई दिन १५ बर्ष मुनीका पूरुष तथा महिला खेलाडीका खेल र कार्तिक २८ र २९ तथा ३० गते वि डिभिजन जिल्ला स्त्तरीय पुरुष डवल्स्, महिला डवल्स् र ४५ बर्षभन्दा माथीका भेट्रान्स डवल्स्का खेलहरु भएका छन् ।
चौदण्डीगढी नगरपालिकाको सहयोग र बेल्टार व्याडमिन्टन क्लबको आयोजनामा आज सम्पन्न प्रतियोगिता अन्तर्गत वि डिभिजन जिल्ला स्त्तरीय पुरुष डवल्स्को उपाधी रामपुरका नेपालधन राई र जैयन राईको जोडीले जितेको छ । फाईनलमा बसहाका आदिप मगर र सौरभ राईको जोडीलाई २१–१७÷२१–२३ र १६–२१ के सेटमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसंगै उनीहरुले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । यस्तै उपविजेता भएका आदिप मगर र सौरभ राईको जोडीले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य दिपक किराँती र खडेन्द्र कुमार वल तथा गणेश विष्ट र काजीमान राईको जोडीले नगद ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
त्यस्तै वि डिभिजन जिल्ला स्त्तरीय महिला डवल्स्को उपाधी निताशा रैका मगर र शिला राईको जोडीले प्राप्त गरेका छन् । उनीहरुले यशोदा राई र दन्त कुमारी राईको जोडीलाई फाईनलमा २१–३ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । तेस्रो स्थानमा राम कुमारी राई र प्रियंका राई तथा ईस्मिता खत्री र समृद्धी राईको जोडी रहन सफल भएका छन् । विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
४५ बर्षभन्दामाथीका भेट्रान्सतर्फको उपाधी भने सन्तोष कटुवाल र कालुप्रसाद उराँवको जोडीले जित्न सफल भएका छन् । उनीहरुले देवीराज राई र पुर्व मेयर खगेन्द्र राईको जोडीलाई २१–१२ र २१–१४ को सोझो सेटमा एकपक्षीय जित निकाल्दै उपाधीमाथी कव्जा जमाएका हुन् । भेट्रान्सतर्फ देवीराज राई र पुर्व मेयर खगेन्द्र राईको जोडी उपविजेता तथा लाखमान राई र नमस कार्की तथा सत्य नारायण चौधरी र पदम राईको जोडी तेस्रो भएका छन् । । भेट्रान्सतर्फका विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले पनि क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
एता १५ बर्षभन्दा मुनीका पुरुषतर्फको उपाधी जुनसाङ्ग लामा र महिलातर्फको उपाधी ईस्मिता खत्रीले जित्न सफल भएका छन् । लामाले फाईनलमा साचीबुङ्ग राईलाई २१–१७÷ १४–२१ र १६–२१ को सेटमा पराजित गरेका छन् भने खत्रीले सिर्जना राई २१–६ र २१–८ को सोझोमा पराजित गरेका छन् । पुरुषतर्फ जेसिसन राई र श्रीजंग लामा तथा महिलातर्फ समृद्धी राई र सोमिया राई तेस्रो भएका छन् । पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ, त्यस्तै महिलातर्फका विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
विजेताहरुलाई नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई, उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष कालीदास राई लगायतले पुरुस्कार वितरण गरेका थिए । प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ, वडा नम्बर ६ ले २० हजार रुपैयाँ र वडा नम्बर ७ ले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
