उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको सबै ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य आज सोमबारबाट शुरु गरेको छ । गत असार ९ गते पालिकाहरुमध्ये देश मै सबैभन्दा पहिले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गर्दै भौतिक पुर्वाधार बर्षको रुपमा मनाउने घोषणा गरेको चौदण्डीगढी नगरपालिकाले आज वडा नम्बर २ माडिबासबाट ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु गरेको हो ।
आज नम्बर २ जोरबाटोमा भएको विशेष कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सडक स्त्तरोन्नती कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरपालिकाले स्थानीय खोलानालाबाट उत्खन्न भएर विक्री वितरण भएको नदीजन्य पदार्थको आम्दानीबाट आएको पैसाको ५० प्रतिशत सोही खोलानालाको संरक्षणमा खर्च गरिएको र बाँकी पैसाबाट जेसिवी, टिफर, रोलर लगायतको मेशिनहरु खरिद गरिएको जानकारी दिदै वडा कार्यालयहरुको सहकार्यमा यस बर्ष नगरको सबै ग्रामिण सडकहरुको स्त्तरोन्नती गरिने बताएका छन् । यसअघि नगरपालिका र वडा कार्यालयहरुले ग्रामिण सडकहरुको लागि सानो रकम मात्र छुट्टयाउने गरेको हुनाले त्यो रकम अपुग हुने र बाटोहरुमा गिट्टी छरेर मात्र सकिने भएकोले दिगो काम हुन नसकेको जनाउदै नगर प्रमुख लामाले यस आर्थिक बर्षमा सबै ग्रामिण बाटाहरुको स्त्तरोन्नती गर्ने उदेश्यले केन्द्रीतरुपमा काम गर्ने जानकारी दिएका छन् । यस्तै उनले नगरपालिका यस क्षेत्रको विकास निमार्णको मिशनमा लागेको तर अफवहा फैलाउनेहरुले बिभिन्न प्रकारका नकरात्मक हल्ला गर्ने गरेकोले त्यसको पछि लाग्न जरुरी नभएको बताए । उनले नगरपालिकाले पारदर्शीरुपमा कार्य गरिरहेको जिकिर गरेका छन् ।

चौदण्डीगढी नगरपालिकाले चालु आर्थिक बर्षमा नगरको १० बटै वडा कार्यालयहरुसंग सहकार्य गर्दै बजेट विनियोजन गरेको छ भने १ वटा जेसिवी, १ वटा रोलर र १ वटा थप टिफर लगायतका हेव्वी ईक्युपमेन्ट खरिद गरेको छ । यस्तै सबै वडा कार्यालयहरुले आफ्नो वडाका सडक स्त्तरोन्नती गर्नका लागि ईन्धन शिर्षकमा १२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरेका छन् । नगरपालिकाले वडाहरुको भुगोल हेरेर काम गर्ने दिन तोकेर मेशिनहरु वडा कार्यालयका अध्यक्ष लगातका जनप्रतिनीधिहरुलाई हस्तान्तरण गर्ने जनाएको छ । जसअनुसार कार्तिक १७ गतेदेखी कार्तिक २३ गतेसम्म वडा नम्बर २, कार्तिक २४ गतेदेखी कार्तिक ३० गतेसम्म वडा नम्बर ४, मंसिर १ गतेदेखी ११ गतेसम्म वडा नम्बर ३ , मंसिर १२ गतेदेखी २० गतेसम्म वडा नम्बर ४, मंसिर २१ गतेदेखी २७ गतेसम्म वडा नम्बर २, त्यस्तै मंसिर २८ गतेदेखी पुष १० गतेसम्म वडा नम्बर ७ , पुष ११ गतेदेखी २४ गतेसम्म वडा नम्बर ६, पुष २५ गतेदेखी माघ १० गतेसम्म वडा नम्बर ५, माघ ११ गतेदेखी २९ गतेसम्म वडा नम्बर ९, फागुन १ गतेदेखी १५ गतेसम्म वडा नम्बर १०, यस्तै फागुन १६ गतेदेखी चैत्र ७ गतेसम्म वडा नम्बर ८ र चैत्र ८ गतेदेखी चैत्र ३० गतेसम्म वडा नम्बर १ का ग्रामिण सडकहरुको स्त्तरोन्नती गरिने नगरपालिका श्रोतले जानकारी दिएको छ ।
