उदयपुरको चौदण्डीगढी नगरपालिकाले घर निमार्णका लागि स्थानीयलाई राजस्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा आज शनिवार नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर विपद ब्यबस्थापन समितिको बैठकले विपन्न स्थानीयलाई सत प्रतिशत छुटमा र अन्यलाई ५० प्रतिशत राजश्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको हो । नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकारका अनुसार स्थानीय समुदाय तथा बासिन्दाहरुको मठ मन्दिर, मस्जिद, धर्मशाला, विद्यालय भवन, सामुदायिक भवन, घर टहरा लगायतको निमार्ण गर्नका लागि आबश्यक पर्ने ढुङ्गागिट्टी र वालुवा कानुनी प्रक्रिया पुरा गरी तोकिएको परिणाममा वडाको सिफारिसको आधारमा अति विपन्न तथा विपन्न परिवारको हकमा लाग्ने राजश्वको सत प्रतिशत छुट गर्ने र अन्यको हकमा प्रचलित प्रदेश कानुनअनुसार लाग्ने राजश्वको ५० प्रतिशत सहुलियतमा उपलब्ध गराउने निर्णय भएको छ । नगरको ग्रामिण सडकहरु मर्मत तथा विविध विषयमा छलफलका लागि बोलाइएको सर्वदलीय सर्वपक्षीय सहभागितासहितको विपद ब्यबस्थापन समितिको बैठकले सो निर्णय गरेको ताम्राकारले जानकारी दिएका छन् ।

यस्तै विपत ब्यबस्थापन समितिको बैठकले यस बर्ष विभिन्न मितिमा आएका बाढीपहिरोका कारण वडा नम्बर १ देखी १० सम्मैका ग्रामिण सडकहरुमा यातायाताका साधन तथा सामान्य आवतजावतमा समेत कठिनाई भएकोले नगरपालिकाको सबै वडाहरुको सडक मर्मत तथा स्त्तरोन्नती गरी नगरपालिका भित्रका कच्ची सडकहरु बर्षभरी संचालनमा ल्याउन स्थानीय नागरिक र वडा कार्यालयहरुले माग गरिरहेको जनाउदै ग्रामिण सडकहरु मर्मत तथा सम्भारका लागि आबश्यक नदीजन्य पदार्थहरु उत्खन्नको अनुमति प्राप्त गर्नका लागि जिल्ला विपद् ब्यबस्थापन समिति, उदयपुरलाई अनुरोध गर्ने निर्णय गरेको छ । नगरपालिकाका विभिन्न खोलाहरुमा नदीजन्य पदार्थ जम्मा भई खोला किनारमा रहेका बस्तीहरु र खेतीजन्य जमिन कटान गर्ने प्रवल सम्भावना रहेकोले नगरपालिकाले यस बर्ष वडा नम्बर २ को लामाखोला सिरान वरपानी, भिमसेन डाँडा चालिसे, चकमने, माडिबास खोला, वडा नम्बर ७ को लाटी खोला, वडा नम्बर ७ को अपरहा खोला, वडा नम्बर ४ को सुख्खासुन्दरी खोला, काली खोला, लामा खोला, करम्जे खोला, त्यस्तैवडा नम्बर ५ र ६ को द्वार खोला त्रियुगा दोभान, वडा नम्बर ५ को जुटपानी खोला र वडा नम्बर ९ को ज्यामिरे द्वार खोला तथा भडौली खोला भिमाबाट नदीजन्य पदार्थ उत्खन्न गर्ने प्रयोजनका लागि जिल्ला विपद् ब्यबस्थापन समिति उदयपुरसंग अनुमति प्राप्त गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यसअघि बैठकमा सहभागी पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राई , नगर सभापति राजेन्द्र पौडेल, माओवादी केन्द्रका नगर सहसचिव विदुर राई, राप्रपाका नेता गोपाल रोका, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द थापा लगायतले बाटोघाटो बनाउनु आबश्यक भएको तर कानुनी पाटोहरु हेर्नुपर्ने भएकाले आई ई ई गरेर पारदर्शी र ईमान्दारीपुर्वक काम गर्नुपर्ने सुझाव दिएका थिए । बैठकमा नगरको नाकाहरुको बाटोहरुलाई जोड्ने, नगर अस्पतालको ब्यबस्थापन, बैमौसमी बर्खाका कारण कृषकको वालीनालीमा भएको क्षती लगायतको विषय पनि उठेको थियो ।
