चौदण्डीगढीमा वी डिभिजन उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । आयोजक बेल्टार ब्याडमिन्टन क्लब र बसहा ब्याडमिन्टन क्लबले आज शनिवार विहान बेल्टार बजारस्थित समाबेशी ब्याडमिन्टन कवर्डहलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उदयपुर जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुने जानकरी दिएको हो ।

बेल्टार ब्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईका अनुसार बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा यही कार्तिक २१ र २२ गते १५ बर्ष मुनीको वी डिभिजन महिला तथा पुरुष र कार्तिक २८ र २९ गते जिल्ला स्तरीय वी डिभिजन महिला तथा पुरुष तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन हुनेछ । जिल्ला स्तरीय वी डिभिजन प्रतियोगितामा मेन्स डवल्स, वमेन्स डवलस र मास्टर डवल्स गरी ३ वटा विद्यामा प्रतिस्पर्धा गराईने र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु उदयपुर जिल्लाको मात्रै हुनुपर्ने शर्त रहेको छ । त्यस्तै ए डिभिजन प्रतियोगितामा सहभागिता जनाईसकेका तथा कुनै पनि वी डिभिजन प्रतियोगितामा प्रथम र द्धितिय भई फाइनलिस्ट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाउने अध्यक्ष राईले जानकारी दिएका छन् । चौदण्डीगढी नगरपालिकाको एक लाख ५० हजार रुपैयाँ र वडा नम्बर ६ र ७ को आर्थिक सहयोगमा संचालन हुने प्रतियोगितामा मेन्स डवल्सतर्फ  प्रथम पुरुस्कार १५ हजार, द्धितिय पुरुस्कार १० हजार र तृतीय पुरुस्कार ८ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी रहेको छ भने वमेन्स डवलसतर्फ तथा मास्टर डवल्सतर्फ प्रथम पुरुस्कार १० हजार, द्धितिय पुरुस्कार ८ हजार र तृतीय पुरुस्कार ६ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी रहेको छ । सम्पुर्ण खेलहरु ब्याडमिन्टन वल्र्ड फेडरेशन र नेपाल ब्याडमिन्टन एसोसिएशनको नियमानुसार खेलाईने आयोजकले जानकारी दिएको छ ।

यस्तै आगामी मंसिर २६ र २७ गते बसहा ब्याडमिन्टन क्लबको आयोजनामा ९ औं जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ संचालन गरिने बसहा ब्याडमिन्टन क्लबका अध्यक्ष नारायण तामाङ्गले जानकारी दिएका छन् । चौदण्डीगढी नगरपालिकाको २ लाख रुपैयाँको आर्थिक सहयोगमा बसहा बर्खेडाँडास्थित ब्याडमिन्टन कवर्डहलमा प्रतियोगिता संचालन हुने उनले बताएका छन् ।
चौदण्डीगढीमा नगरपालिकामा ब्याडमिन्टन खेल फस्टाएको छ । यहाँका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागी भैसकेका छन् । झण्डै आधा दर्जनको संख्यामा बेल्टार, बसहा, हडिया, सुन्दरपुर लगायतका स्थानमा सुविधासम्पन्न कवर्डहल निमार्ण भएका छन् । तर पछिल्लो समयमा ब्याडमिन्टन खेल वहालवाला र पुर्व कर्मचारी, ब्यापारी–ब्यबसायी, जनप्रतिनीधिहरुले मात्रै खेल्ने खेलकोरुपमा सिमित हुन थालेको महसुस गरिएको छ । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा झण्डै एक दशकदेखी प्रतियोगिताहरु संचालन भैरहेपनि प्रायोजकको रुपमा नगरमा रहेका ब्यापारिक प्रतिष्ठानहरु जोडिन सकेका छैनन् भने बिद्यालयस्तरमा ब्याडमिन्टन खेल नजोडिदा नयाँ खेलाडीहरु उत्पादन हुन सकिरहेको छैन् । तर बेल्टार ब्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईले आर्थिक अभाव र ब्याडमिन्टन खेल अलिक खर्चिलो खेल भएकोले नयाँ खेलाडीहरु उत्पादनमा समस्या भैरहेको जिकिर गरेका छन् । प्रायोजकको कमीले गर्दा यस्ता प्रतियोगिता आयोजना गर्न कठिनाई भै रहेको उनको भनाई छ ।